१५ कार्तिक, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेका लागि तय गरिएको निर्वाचन सफल बनाउन सबै पक्षको साथ र सहयोग अपरिहार्य रहेको बताएकी छन्।
शुक्रबार बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवासमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग मुलुकको वर्तमान राजनीतिक अवस्था, निर्वाचन तयारी तथा सरकारका काम–कारबाहीबारे छलफल गर्दै प्रधानमन्त्री कार्कीले सरकार निर्वाचनको तयारीमा पूर्ण रूपमा केन्द्रित रहेको बताइन्।
उनका अनुसार निर्वाचनका लागि आवश्यक वातावरण बनाउन सरकारले अधिकतम प्रयास गरिरहेको छ। उनले राजनीतिक दलबीच संवाद र सहकार्यको वातावरण विस्तारै बन्दै गएको उल्लेख गर्दै आगामी निर्वाचनमा सबैको सहभागितामार्फत लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिन्।
प्रधानमन्त्री कार्कीले भनिन्, “सबैलाई विश्वासमा लिएर निर्वाचन सफल बनाउने मेरो मनसाय हो। निर्वाचन सम्पन्न गरी नयाँ सरकारलाई जिम्मा लगाएर बिदा हुने चाहना राखेकी छु।”
सुशासन कायम गर्ने र निर्वाचन सम्पन्न गराउने नै वर्तमान सरकारको प्रमुख उद्देश्य रहेको उल्लेख गर्दै उनले राजनीतिक दललाई निषेध गरेर होइन, उत्साहपूर्वक सहभागितामार्फत निर्वाचनमा ल्याउने नीति सरकारको रहेको स्पष्ट पारिन्।
“म असहज परिस्थितिमा जिम्मेवारी सम्हालेकी हुँ। आलोचनाबाट नडराई संविधान र लोकतन्त्रको मर्मअनुसार अघि बढ्नेछु,” प्रधानमन्त्री कार्कीले भनिन्।
छलफलमा अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङ, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल सहभागी थिए।
















