१५ कात्तिक,काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज अध्यक्ष केपी शर्मा ओली को निवास गुण्डुमा सुरु भएको छ। बैठकमा मङ्सिर २७ देखि २९ सम्म पोखरामा हुने ११ औँ महाधिवेशनको तयारीको प्रारम्भिक रिपोर्टिङ हुने नेताहरूले बताएका छन्।
उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र सचिव पद्मा अर्यालले पोखराको वस्तुस्थितिको बारेमा बैठकमा रिपोर्टिङ गर्ने तयारीमा छन्। बैठकले महाधिवेशनको तयारीका लागि विभिन्न नेताहरूलाई जिम्मेवारी दिने सम्भावना रहेको छ।
बैठकमा महाधिवेशनको कार्यतालिका, प्रतिनिधिको सङ्ख्या, प्रतिनिधि छनौटको आधारलगायतका विषयमा छलफल हुने एक पदाधिकारीले जानकारी दिएका छन्।
साथै, बैठकमा सरकारले फागुन २१ गते गर्ने भनिएको निर्वाचन र पछिल्ला राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल हुने बताइएको छ।
















