१५ कात्तिक,वीरगञ्ज । “महिलाको नेतृत्वका लागि अभियान बन्ने” मूल नाराका साथ दलित महिला संघ वीरगंज–पर्साले आयोजना गरेको दुई दिने प्रदेश स्तरीय महिला संजाल छलफल कार्यक्रमको पहिलो दिन आज होटल वीरगञ्ज गेटवे, पर्सामा सम्पन्न भएको छ।
कार्यक्रममा बारा, पर्सा र रौतहट जिल्लाका ३० जना प्रदेशस्तरीय महिला नेतृ तथा प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा अध्यक्षता दलित महिला संघ वीरगंज, पर्साकी अध्यक्ष निला रामले गरेकी थिइन् भने विशिष्ट अतिथि बिरगंज कपडा बैंकका अध्यक्ष लालबाबू सिंह रहेका थिए।
सत्रमा सहभागी महिलाहरूले प्रदेश र स्थानीय तहमा महिलाको राजनीतिक, सामाजिक र आर्थिक नेतृत्व सुदृढ गर्न आवश्यक नीति, कार्यक्रम र रणनीति सम्बन्धी विचार–विमर्श गरेका थिए। अध्यक्ष निला रामले आफ्नो संबोधनमा दलित महिलाहरूले हक, अधिकार र पहिचानका लागि अझ सशक्त भएर अघि बढ्नुपर्ने बताए। उनले भनिन्, “महिलाको नेतृत्व बिना समावेशी विकास सम्भव छैन। यसैले यो छलफल अभियानको रूपमा अघि बढाइनेछ।”
दुई दिने कार्यक्रम Women’s Fund Asia को सहयोगमा सञ्चालन गरिएको हो र भोलि आइतबार (कार्तिक १६ गते) यस कार्यक्रमको समापन हुने आयोजक संघकी अध्यक्ष निला रामले जानकारी दिइन्।
















