१६ कार्तिक, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले नेकपा (एकीकृत समाजवादी)सँग एकताबारे औपचारिक निर्णय गर्न केन्द्रीय समिति बैठक बोलाएको छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको सचिवालय बैठकले आगामी कात्तिक १७ गतेका लागि केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो। बैठक स्थल भने अझै टुंगो लागेको छैन।
सचिवालय सदस्य नेता हरिबोल गजुरेलले कुरा गर्दै, “१७ गते केन्द्रीय समिति बैठक बस्नेछ, त्यसपछि १८ गते एकता घोषणा हुनेछ,” भन्ने दाबी गरे।
उनका अनुसार शनिबार बिहान ८ बजे पुनः बस्ने सचिवालय बैठकले एकता प्रक्रियासम्बन्धी औपचारिक तयारीबारे छलफल गर्नेछ।
यसअघि शुक्रबार बसेको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत समाजवादीसँगको एकता प्रक्रियाबारे सदस्यहरूलाई जानकारी दिएका थिए। उनले वामपन्थीबीचको एकता र ध्रुवीकरणलाई “आजको ऐतिहासिक आवश्यकता” भन्दै एकता प्रक्रिया अघि बढ्ने स्पष्ट संकेत दिएका थिए।
तर, नेता जनार्दन शर्माले प्रचण्डको प्रस्तावप्रति असहमति जनाउँदै तीन पृष्ठ लामो लिखित टिप्पणीसहित बैठकबाट बाहिरिएका थिए। उनले वैचारिक स्पष्टता र संगठनात्मक तयारीबिनै “हतारको एकता” गर्न खोज्नु अनुचित भएको तर्क गरेका थिए।
‘यस्तो हतारोको एकताले केही नेताको व्यक्तिगत स्वार्थ त पूरा गर्न सक्छ, तर कम्युनिस्ट आन्दोलनकै आधार कमजोर पार्ने खतरा छ,’ शर्माको भनाइ उद्धृत गर्दै एक नेताले बताए।
पार्टी स्रोतका अनुसार कात्तिक १७ गते हुने केन्द्रीय समिति बैठकले एकता प्रस्ताव अनुमोदन गर्ने र त्यसको भोलिपल्ट कात्तिक १८ गते औपचारिक रूपमा एकता घोषणा गर्ने तयारी भएको छ।
















