१६ कात्तिक,वीरगञ्ज । लोकप्रिय चाउचाउ ब्रान्ड वाइ वाइ ले सञ्चालन गरेको “मालामाल वीक्ली अफर” मार्फत कम्पनीले उपहारको लोभ देखाई ग्राहकहरूलाई झुक्याएको आरोप लागेको छ।
ग्राहकहरूका अनुसार, चाउचाउको प्याकेटभित्र राखिएको कुपनमार्फत कम्पनीले १ हजारदेखि १ लाख रुपैयाँसम्मको नगद पुरस्कार पाउने व्यवस्था गरेको विज्ञापन गरे पनि, कुपनमा उल्लेखित सम्पर्क नम्बरमा पटक–पटक फोन गर्दा पनि नउठाउने वा लाग्ने नगरेको गुनासो सार्वजनिक भएको हो।
कुपन पाएका धेरै ग्राहकहरूले कम्पनीको पुरस्कार योजना वास्तविक उपहार वितरणभन्दा पनि प्रचारको लोभ देखाउने माध्यम मात्रै भएको आरोप लगाएका छन्। उनका भनाइमा, “कम्पनीले ‘मालामाल’ स्किमको नाममा ग्राहकको विश्वासमा ठेस पु¥याएको” छ।
कम्पनीको कुपनमा उल्लेख भएअनुसार, “कम्पनीको आधिकारिक हस्ताक्षर र छाप भएको कुपन मात्र मान्य हुनेछ” र “नेपाल सरकारको नियमअनुसार कर कट्टी गरिने” उल्लेख गरिएको छ। साथै, “उपहारसम्बन्धी सम्पूर्ण निर्णय कम्पनीमा निहित हुनेछ” भन्ने सर्त पनि राखिएको छ। तर, पुरस्कार दाबीका लागि दिएको सम्पर्क नम्बर ९८५१२२८६७१ मा सम्पर्क हुन नसक्दा ग्राहकहरू थप निराश बनेका छन्।
यस विषयमा कम्पनीले भने आधिकारिक प्रतिक्रिया दिएको छैन।
ग्राहकहरूले उपभोक्ता हित संरक्षण विभाग र सम्बन्धित निकायसँग यस्ता भ्रामक तथा अपारदर्शी योजनामाथि छानबिन गरी कारबाही गर्न माग गरेका छन्।
















