१६ कात्र्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो सम्पदा संरक्षण अभियानलाई निरन्तरता दिँदै थापाथलीस्थित राम मन्दिर परिसरमा अवैध रूपमा बनाइएका भौतिक संरचनाहरूमाथि डोजर चलाएको छ ।
महानगरले सम्पदा क्षेत्र खुला राख्ने र संरक्षण गर्ने उद्देश्यका साथ उक्त क्षेत्रमा रहेका अनधिकृत भौतिक संरचनाहरू भत्काएको जनाएको छ । महानगरपालिकाले राम मन्दिर परिसरमै रहेको ट्राफिक प्रहरी प्रभाग को भवनमा भने तत्काल डोजर नचलाउने भएको छ । सम्पदा क्षेत्र खाली गराउने अभियानमा रहेको महानगर प्रहरी आज बिहानै डोजरसहित प्रभागमा पुगेको थियो । महानगरपालिका वडा नम्बर ११ का अध्यक्ष हिरालाल तण्डुकार ले सम्पदा क्षेत्रका अन्य अवैध संरचनाहरू भत्काइए पनि प्रभागको भवन नभत्काइने बताए ।
प्रहरी अधिकारीहरूलाई बस्न समस्या भएको अवस्थामा प्रभागको पुरानो भवन निर्माण नहुञ्जेलसम्म हालको संरचना नभत्काउन दिइने उनले स्पष्ट पारे । महानगरले सम्पदा जग्गा अतिक्रमण गरेर ट्राफिक बिट खडा गरिएको भन्दै त्यसलाई हटाउन खोजेको थियो । तर, ट्राफिक प्रहरीले भने उक्त बिट २०३० सालदेखि नै स्थापना गरी बसेको बताउँदै आएको छ ।
















