१७ कार्तिक, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आज (शनिबार) कतार प्रस्थान गर्दैछन्। उनी कात्तिक १८ देखि २० गतेसम्म दोहामा हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी हुनेछन्।
कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा राष्ट्रपति पौडेल १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दोहा प्रस्थान गर्न लागेका हुन्।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार राष्ट्रपति पौडेलले कात्तिक १८ गते सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
तीस वर्षपछि पुनः आयोजना हुन लागेको यो सम्मेलन संयुक्त राष्ट्रसंघ महासभाको निर्णयअनुसार भइरहेको हो। यसअघि सन् १९९५ मा पहिलो सम्मेलन डेनमार्कको कोपनहेगनमा सम्पन्न भएको थियो।
सम्मेलनका क्रममा राष्ट्रपति पौडेलले कतारका अमिर, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस लगायतका वरिष्ठ व्यक्तिहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ।
सामाजिक विकासका विषयमा केन्द्रित यस सम्मेलनले विश्वका देशबीच सहकार्य र साझा प्रतिबद्धता अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ। राष्ट्रपति पौडेल कात्तिक २० गते स्वदेश फर्कने कार्यक्रम छ।
















