१७ कात्र्तिक, काठमाडौँ । नेकपा एमालेको आगामी एघारौँ महाधिवेशन मा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बीच कडा प्रतिस्पर्धा हुने भएको छ ।
मंसिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने महाधिवेशनमा ओलीलाई निर्विकल्प हुनबाट रोक्न पोखरेलले उम्मेदवारी दिने तयारी गरेको एमाले नेताहरूले बताएका छन् ।
भण्डारीको सदस्यता रोकिएपछि पोखरेलको इन्ट्री
ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी लाई आफ्नो प्रमुख प्रतिस्पर्धीका रूपमा देखेर नवीकरण भइसकेको उनको पार्टी सदस्यता निलम्बनमा राखिदिएपछि अध्यक्षमा पोखरेलको उम्मेदवारी दिने तयारीले मूर्तरूप लिएको हो । भण्डारीको सदस्यता खुलाउन छ जना पदाधिकारी (पोखरेलसहित) ले सचिवालय बैठकमा निरन्तर दबाब दिए पनि ओलीले सकारात्मक जवाफ नदिएपछि पोखरेल अघि बढेका हुन् । उपाध्यक्ष सुरेन्द्र पाण्डे भन्छन् “भण्डारीले अध्यक्षमै उम्मेदवारी दिने डरले ओलीले सदस्यता निलम्बन गरेको होला, नत्र डराउनुपर्ने के थियो र ? ” भण्डारीको सदस्यता रोक्ने ओलीको कदमले नै महाधिवेशनमा ‘नेतृत्व हस्तान्तरण’ को मुद्दालाई चर्काउन पोखरेललाई सहज बनाएको देखिन्छ ।
पोखरेलको पक्षमा सचिवालयको बहुमत
एमालेभित्र अहिले केन्द्रीय कमिटी र अन्य तहमा ओलीको पक्षमा ठूलो बहुमत देखिए पनि अध्यक्षमा पोखरेललाई साथ दिने सचिवालय सदस्यहरूको बहुमत रहेको दाबी गरिएको छ। पोखरेलको उम्मेदवारीमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण विष्ट लगायतका नेताहरूको पूर्ण साथ रहेको बताइएको छ । एक पदाधिकारीका अनुसार, “वरिष्ठ उपाध्यक्षले अध्यक्षमा दाबी गर्नु स्वाभाविक हो। उहाँ उठ्ने हुँदा सचिवालयका बहुमत सदस्यको साथ पाउनुहुन्छ।” ओलीका समकालीन, मदन भण्डारीसँग निकट रहेर काम गरेका तथा जनताको बहुदलीय जनवाद का पक्षधर भएकाले पोखरेललाई उम्मेदवारी दिन धेरैले सुझाव दिएका छन् ।
विधान संशोधन र प्रतिस्पर्धाको बाटो
ओलीले तेस्रो कार्यकालका लागि अध्यक्ष बन्न उमेर हद र दुई कार्यकालको प्रावधान हटाउन विधान संशोधन गरेका थिए। यही संशोधनले पोखरेलसहित अन्य नेताहरूलाई पनि अध्यक्षमा चुनाव लड्ने बाटो खोलिदिएको छ । सचिव गोकर्ण विष्टले महाधिवेशनमा स्वस्थ प्रतिस्पर्धा हुने र नेताहरू त्यसका लागि तयार रहेको स्पष्ट पारेका छन् । पोखरेल नेतृत्व छोड्न दबाब दिने जेन–जी आन्दोलन मा पनि सक्रिय थिए । असोजमा बसेको सचिवालय बैठकमा पोखरेलसहित बहुमत पदाधिकारीले ओलीलाई पद छोड्न सुझाव दिएका थिए, जुन ओलीले अस्वीकार गरेका थिए ।
महाधिवेशनमा दुई प्यानलको तयारी
भण्डारीसँग समेत परामर्श गरेर उम्मेदवारी दिने निर्णयमा पुगेका पोखरेलले अध्यक्ष मात्र नभई अन्य पदाधिकारी पद मा समेत उम्मेदवार खडा गर्ने तयारी थालेका छन् । विधान संशोधनबाट पदाधिकारी संख्या १५ सदस्यीय बनाइएको छ । अर्का पदाधिकारी भन्छन्स् “प्यानलै बनाएर जाने सम्भावना बढ्यो। पहिला जस्तो महाधिवेशन नहोला, उम्मेदवारी पर्छ। प्यानल उठिहाल्छन्।” ओलीसँग प्रतिस्पर्धा गर्न कोही तयार नभए आफैँ उठ्ने घोषणा गरिसकेका योगेश भट्टराई को भनाइले पनि प्रतिस्पर्धाको संकेत गर्छ ।
२१ सय प्रतिनिधि रहने यस महाधिवेशनमा नेतृत्व हस्तान्तरण को मुद्दा चर्काउने र भण्डारीको रोकिएको सदस्यता लाई एजेन्डा बनाउने पोखरेल पक्षको तयारी छ ।
यसअघि दशौँ महाधिवेशनमा भीम रावल ले उम्मेदवारी दिएपछि ओली सर्वसम्मत हुन सकेका थिएनन् । यसपटक पनि ओलीको सर्वसम्मत अध्यक्ष बन्ने चाहना सफल नहुने देखिएको छ।

















