Logo

१८ कात्र्तिक, काठमाडौं । जेन–जी आन्दोलनका क्रममा प्रहरी कार्यालय तोडफोड गरेको आरोप लागेका आठ जना व्यक्तिहरू प्रहरी कार्यालयमा आफैं उपस्थित भएका छन् ।

प्रहरी वृत्त जगातीमा भएको तोडफोडको घटनामा संलग्नहरूको पहिचानपछि प्रहरीले खबर गरेर जिल्ला प्रहरी परिसर भक्तपुरमा उपस्थित हुन निर्देशन दिएको थियो । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एआईजी दानबहादुर कार्कीले जानकारी दिएअनुसार, प्रहरीको खबरपछि ती आठ जना आरोपीहरू सोमबार आफैं उपस्थित भएका हुन् । उपस्थित हुनेहरूमा १६ वर्षदेखि ३४ वर्ष उमेर समूहका काभ्रे, सर्लाही, महोत्तरी र भक्तपुरका विभिन्न ठाउँका व्यक्तिहरू छन् ।

आफैं उपस्थित हुनेहरूमा काभ्रे भुम्लु गाउँपालिका–३ का ३४ वर्षीय रामशरण परियार, बनेपा नगरपालिका–४ का ३२ वर्षीय रुपक परियार, नमोबुद्ध नगरपालिका–१ का २२ वर्षीय अमृत सुनुवार र नमोबुद्ध नगरपालिका–६ का २२ वर्षीय बिकाश तामाङ रहेका छन् । यसैगरी, सर्लाही लालबन्दी नगरपालिका–६ का २६ वर्षीय होमबहादुर खत्री र सोही जिल्लाका १६ वर्षीय सरोज बम्जन, महोत्तरी सोनाम गाउँपालिका–८ का १८ वर्षीय प्रह्लादकुमार ठाकुर र भक्तपुर नगरपालिका–८ का ३२ वर्षीय राजन माक पनि उपस्थित भएका छन् ।

एआईजी कार्कीले उपस्थित भएका सबै आठ जनालाई हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका छन् ।


सम्बन्धित समाचार
भर्खरै