Logo

१९ कार्तिक, काठमाडौँ । आन्तरिक असन्तोष र नेतृत्व विवादबीच लामो समयदेखि चलिरहेको वाम शक्तिहरूको एकता प्रयास आज औपचारिक रूपमा निष्कर्षमा पुग्दैछ। नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित नौ राजनीतिक दल र समूहबीच आज एकता घोषणा हुने भएको छ।

माओवादी केन्द्रको नेतृत्वमा भइरहेको एकता पहललाई मंगलबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले अनुमोदन गरेको छ। यससँगै आज बिहान ११ बजे संयुक्त राष्ट्रिय सम्मेलनमार्फत ‘नेपाली कम्युनिस्ट पार्टी’ नामक नयाँ पार्टीको घोषणा गरिने माओवादी केन्द्रका प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए।

उनका अनुसार एकीकृत पार्टीले ‘नेपाली विशेषताको वैज्ञानिक समाजवाद’ को सिद्धान्तलाई मार्गदर्शक विचारका रूपमा अंगिकार गर्नेछ। साथै, पार्टीले जनताको आकांक्षा अनुसार नीति कार्यक्रम निर्माण गरी देशको राजनीतिक स्थायित्व र आर्थिक समृद्धिलाई प्रमुख एजेन्डा बनाउने घोषणा गर्ने तयारी गरिएको छ।

एकतामा माओवादी केन्द्र र एकीकृत समाजवादी बाहेक जनसमाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, नेकपा समाजवादी, नेकपा माओवादी समाजवादी, नेकपा साम्यवादी, तथा पूर्व माओवादी नेता गोपाल किराँती समूह सहित नौ दल र समूह सहभागी छन्।

प्रवक्ता सापकोटाका अनुसार, “सबै घटकहरूको समान सहभागितामा एकीकृत पार्टीको नाम, नीति र नेतृत्व संयोजनबारे सहमति भइसकेको छ। एकीकृत पार्टी अब वाम एकताको ठोस नतिजा साबित हुनेछ।”

नयाँ पार्टीले ‘जनताको इच्छा र देशको आवश्यकतालाई केन्द्रमा राख्ने’ नीति अवलम्बन गर्ने जनाएको छ। आज हुने सम्मेलनमा सबै सहभागी दलका शीर्ष नेता, केन्द्रीय पदाधिकारी तथा कार्यकर्ताको उपस्थिति रहने बताइएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार यो एकता नेपाली वाम राजनीतिमा पुनः एक केन्द्रको सम्भावना जगाउने महत्वपूर्ण कदम मानिएको छ।


सम्बन्धित समाचार