Logo

१९ कार्तिक, काठमाडौँ । नेपालमा हाल पश्चिमी वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसै प्रभावका कारण देशका पश्चिमी तथा मध्य भूभागमा बदली र वर्षाको सम्भावना बढेको छ।

महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली रहेको छ भने बाँकी भूभागमा आंशिक बदली छ।

आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भूभागमा सामान्यतया बदली रहने अनुमान गरिएको छ। ती प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै, बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि हल्का वर्षा र हिमपात हुन सक्ने उल्लेख गरिएको छ। साथै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका केही स्थानमा हल्का वर्षा पर्न सक्ने सम्भावना छ।

आज राति भने बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहन्छ।

महाशाखाले राति पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुने सम्भावना रहेको जनाएको छ।

मौसमविद्हरूले पश्चिमी वायुको यो प्रभाव केही दिन जारी रहने अनुमान गर्दै उच्च हिमाली क्षेत्रका बासिन्दा तथा यात्रुहरूलाई सतर्कता अपनाउन आग्रह गरेका छन्।


सम्बन्धित समाचार