१९ कार्तिक, काठमाडौँ । वाम दलबीच एकता र विभाजनको श्रृंखला तीव्र बनेको बेला नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालबीच आज भेटवार्ता हुँदैछ।
खनाल आज बिहान प्रचण्डसँग भेट गर्न सानेपा पुग्दैछन्। उनले अनलाइनखबरसँग कुरा गर्दै वाम एकताको एजेन्डामा केन्द्रित छलफल हुने जानकारी दिए। “वाम दलहरू एकताबद्ध हुनैपर्छ,” खनालले भने, “त्यही विषयमा आज प्रचण्डसँग पनि विस्तृत कुरा गर्नेछु।”
यसअघि खनालले हिजो बेलुका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए। वाम एकता प्रयास सुदृढ गर्न खनाल हाल वाम नेताहरूसँग लगातार भेटघाटमा छन्।
खनालले सम्भावित वाम एकताका लागि चार मुख्य सर्त अघि सारेका छन् —
१. मार्गदर्शक सिद्धान्त : मार्क्सवाद र लेनिनवादलाई मात्र मार्गदर्शक सिद्धान्तका रूपमा स्वीकार्नुपर्ने।
२. समाजवादी क्रान्ति : वर्तमान समय समाजवादी क्रान्तिको युग भएकाले त्यसै दिशामा अघि बढ्नुपर्ने।
३. एकमात्र कार्यक्रम : सबै दलको साझा एजेन्डा समाजवादी कार्यक्रम नै हुनुपर्ने।
४. कार्यदिशा र नीति एकरूपता : समाजवादी कार्यक्रम कार्यान्वयनका लागि नीति, सिद्धान्त र कार्यदिशामा पूर्ण एकरूपता हुनुपर्ने।
खनालले भने, “यी चार सर्तहरू जसले स्वीकार्छ, उनीहरूसँग पार्टी एकता सम्भव हुन्छ।” उनका अनुसार, वाम एकताका सम्भावित संयोजनबारे विभिन्न नेताहरूसँग निरन्तर संवाद भइरहेको छ।
यसबीच, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको समूहले नेकपा (माओवादी केन्द्र) सँग एकता गर्ने निर्णय गरिसकेको छ। तर, वरिष्ठ नेता झलनाथ खनाल, महासचिव घनश्याम भूसाल, र सांसद रामकुमारी झाँक्रीसहितको समूहले उक्त निर्णयमा असहमति जनाउँदै आएका छन्।
झाँक्री समूहले आजै पत्रकार सम्मेलन गर्दै आफ्नो धारणा सार्वजनिक गर्ने तयारी गरेको छ। स्रोतका अनुसार, असन्तुष्ट समूह एमालेमा पुनः फर्कने तयारीमा छ।
वाम राजनीतिमा नयाँ समीकरणको सम्भावनाबीच आजको प्रचण्ड–खनाल भेटलाई निर्णायक संकेतका रूपमा हेरिएको छ।
















