१९ कार्तिक, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जेन–जी आन्दोलन प्रकरणसम्बन्धी छानबिनका लागि बनेको सरकारी आयोगले आज दिउँसो १ बजे सिंहदरबारमा उपस्थित हुन निर्देशन दिएको छ।
सरकारले गठन गरेको जेन–जी आन्दोलन छानबिन आयोगले लामिछानेलाई नख्खु प्रकरणका विषयमा बयान लिनका लागि बोलाएको हो। आयोगका अनुसार उनीसँग २४ भदौमा नख्खु जेलबाट निस्किएको विषयमा विस्तृत विवरण सोधपुछ गरिनेछ।
गत २४ भदौमा नख्खु जेलबाट लामिछाने बाहिरिएको दृश्य सार्वजनिक भएपछि उनको जेलभित्र प्रवेश र निष्कासन प्रक्रियाबारे प्रश्नहरू उठेका थिए। सोही विषयमा स्पष्टता ल्याउन आयोगले लामिछानेलाई बयानका लागि बोलाएको जनाएको छ।
यसअघि नख्खु जेल प्रशासनका अधिकारीहरूसँग पनि आयोगले बयान लिइसकेको छ। आयोगले हालसम्म घटनासँग सम्बन्धित विभिन्न पक्षहरूसँग बयान संकलन गरिरहेको छ।
सरकारले गत असोजमा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गरेको थियो। आयोगलाई गत २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनबारे अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।
आयोगले पछिल्ला दिनहरूमा घटनाका प्रमुख पात्रहरूलाई एकपछि अर्को गर्दै बयानका लागि बोलाउँदै आएको छ। लामिछानेको बयानपछि आयोगले अन्य राजनीतिक तथा प्रशासनिक जिम्मेवार व्यक्तिहरूसँग पनि सोधपुछ गर्ने तयारी गरेको स्रोतले जनाएको छ।
















