१९ कात्र्तिक, काठमाडौं । बृहत् नेपाली कम्युनिस्ट पार्टीको एकता घोषणा हुनुपूर्व नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई नयाँ पार्टीभित्र तेस्रो वरियता दिनेगरी शीर्ष नेताहरूबीच सहमति जुटेको छ ।
यसअघि एकता प्रक्रियामा असन्तुष्टि जनाएका र सुरुमा पार्टी पुनर्गठनको प्रक्रियामा लाग्ने बताएका खनाल अन्ततः माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको एकतामा समाहित भएका हुन् । स्रोतका अनुसार, बुधबार बिहानमात्रै भएको छलफलमा खनाल तेस्रो वरियतामा बस्न सहमत भएका थिए, जबकि यसअघि वामदेव गौतमलाई तेस्रो वरियता दिनेगरी सहमति भएको थियो ।
नयाँ कम्युनिस्ट पार्टीको वरियता क्रममा प्रचण्डलाई पहिलो, माधवकुमार नेपाललाई दोस्रो, झलनाथ खनाललाई तेस्रो, वामदेव गौतमलाई चौथो र नारायणकाजी श्रेष्ठलाई पाँचौं स्थान दिइएको छ । खनालले गएराति मात्रै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग समेत छलफल गरेको भए पनि अन्तिममा उनी प्रचण्ड–माधव समूहतिरै लागेर भृकुटीमण्डपमा आयोजित एकता घोषणा सभामा सहभागी हुन पुगेका छन् ।

















