Logo

१९ कात्र्तिक, काठमाडौं । दुई दिनको लगातारको गिरावटपछि आज सेयर बजार मापक नेप्से परिसूचकमा सामान्य सुधार देखिएको छ ।

नेप्से परिसूचक १२ दशमलव १७ अङ्कले बढेर २६०७ दशमलव ४२ विन्दुमा पुगेको छ । यसैगरी, सेन्सेटिभ इण्डेक्स १ दशमलव १४ अङ्कले, फ्लोट इण्डेक्स ० दशमलव ९० अङ्कले र सेन्सेटिभ फ्लोट इण्डेक्स ० दशमलव ४५ अङ्कले बढेका छन् । यद्यपि, परिसूचक बढे पनि कारोबार रकम भने मङ्गलबारको तुलनामा घटेको छ । आज ३१२ कम्पनीको ९२ लाख १८ हजार कित्ता सेयर ४ अर्ब ६८ करोड १९ लाख २२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ, जबकि मङ्गलबार ५ अर्ब १५ करोड रुपैयाँको कारोबार भएको थियो ।

आज नेप्सेमा रहेका १३ उपसमूहमध्ये ११ वटा उपसमूहको परिसूचक बढेको छ, जसमा वित्त उपसमूहको परिसूचक सर्वाधिक ३ दशमलव ४१ प्रतिशतले बढेको छ भने होटल तथा पर्यटन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य घटेको छ । आजको कारोबारमा माबिलुङ्ग इनर्जी लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।

यता फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा भने ७ दशमलव ४८ प्रतिशतको गिरावट आएको छ । कारोबार रकमका आधारमा आज युनियन हाइड्रोपावर कम्पनीको ३८ करोड ६१ लाख ५२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।


सम्बन्धित समाचार