१९ कात्तिक, वीरगञ्ज । सशस्त्र प्रहरी बल, नेपालले वीरगञ्जको दशगज्जा क्षेत्रबाट एक थान नलकटुवा पेस्तोलसहित दुई जना युवकलाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये बाराको जितपुर–सिमरा उपमहानगरपालिका–७ का २८ वर्षीय संजय साह कलवार र वीरगञ्ज महानगरपालिका–५ कुम्हालटोलका २२ वर्षीय सुमित कुमार मण्डल रहेका छन्।
सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म र भारतीय सशस्त्र सीमा बल (SSB) को संयुक्त गस्ती टोलीले बुधबार वीरगञ्ज महानगरपालिका–१९, इनर्वास्थित दशगज्जा क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
गुल्म प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) पुरुषोत्तम भण्डारीका अनुसार, टोलीले सीमा पिलर नं. ३९०–२२ नजिकै नेपालतर्फ झ्याँगमा नसालु पदार्थ सेवन गरिरहेका अवस्थामा दुबै जनालाई फेला पारेको थियो। जाँच गर्दा नजिकै रहेको प्लास्टिकको बोरा भित्रबाट नलकटुवा पेस्तोल बरामद गरिएको उनले जानकारी दिए।
डीएसपी भण्डारीले भने, “सिर्सिया खोलाको रीतबाट दक्षिणतर्फ नियमित गस्तीका क्रममा झ्याँगमा बसेका उनीहरूलाई देखी तलासी लिँदा हतियार बरामद भएको हो।”
पक्राउ परेका कलवारको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई वीरगञ्जस्थित नारायणी अस्पतालमा भर्ना गरिएको छ भने मण्डललाई बरामद हतियारसहित जिल्ला प्रहरी कार्यालय, पर्सामा बुझाइएको छ।
यता, पक्राउ परेका सुमित मण्डलले भने बरामद भएको हतियार आफूहरूको नभएको दाबी गरेका छन्। उनका अनुसार, “सिर्सिया खोलाको किनारमा झ्याँगमा बसेर लागुपदार्थ सेवन गरिरहेका बेला प्रहरी आएर नजिकैको बोराबाट हतियार बरामद गरेको र त्यसको आरोप आफूहरूमाथि लगाइएको हो।”
सशस्त्र प्रहरी र भारतीय SSB को संयुक्त गस्ती टोलीले सीमा क्षेत्रमा अवैध हतियार, लागू पदार्थ र अन्य गैरकानुनी गतिविधि नियन्त्रणमा प्रभावकारी भूमिका खेल्दै आएको सशस्त्र प्रहरीले जनाएको छ।
















