Logo

२० कार्तिक, काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीलाई मुलुककै पहिलो शक्ति बनाउन कसैले रोक्न नसक्ने दाबी गरेका छन्।

बुधबार राजधानीको भृकुटीमण्डपमा आयोजित एकता घोषणा सभामा सम्बोधन गर्दै प्रचण्डले आगामी निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी देशकै अग्रणी दल बन्ने विश्वास व्यक्त गरे।

उनले भने, “नेपाली कम्युनिस्ट पार्टीलाई एक नम्बर पार्टी बन्नबाट कसैले रोक्न सक्दैन। प्रतिक्रियावादीहरूलाई आज निद्रा नलागेको होला, नलागोस् पनि। तर यसो भन्दैमा हामी अहंकारी हुनुहुँदैन, सबैलाई मिलाएर अघि बढ्नुपर्छ।”

कार्यक्रममा प्रचण्डले पार्टीभित्र देखिएको नेतृत्व हस्तान्तरणको बहसलाई नयाँ विचार र विधिबाट समाधान गर्न सकिने उल्लेख गरे। उनले आगामी महाधिवेशनसम्म सो विषयमा गम्भीर छलफल र बहस हुने बताए।

“अहिले सबै दलभित्र नेतृत्व हस्तान्तरणबारे बहस चलिरहेको छ,” प्रचण्डले भने, “नेतृत्व एउटै पदमा बसिराख्न जरुरी छैन। नेतृत्वलाई विभिन्न भूमिकामा व्यवस्थापन गर्न सकिन्छ। भूमिगत कालमा पनि मैले ‘म नमरुन्जेल नेतृत्वमा बस्नुपर्छ’ भन्ने मान्यता गलत हो भनेर लेखेको थिएँ। अब समय आएको छ — २१औँ शताब्दीका कम्युनिस्टहरूलाई दीर्घजीवी बनाउने नयाँ विचार र विधि विकास गर्न।”

उनले सो क्रममा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग यस विषयमा निरन्तर छलफल भइरहेको जानकारी पनि दिए।

राष्ट्र गम्भीर संकटमा रहेकाले वामपन्थीहरूबीच एकता भएको बताउँदै प्रचण्डले एमालेसहितका लोकतान्त्रिक शक्तिसँग पनि सहकार्य गर्न तयार रहेको बताए।

उनले भने, “राष्ट्र, लोकतन्त्र, गणतन्त्र र राष्ट्रियताको रक्षा अहिलेको पहिलो आवश्यकता हो। त्यसका लागि हामी एमालेसहितका सबै लोकतान्त्रिक शक्तिसँग हातेमालो गर्न तयार छौं। वामपन्थीभित्र मात्र सीमित भएर सहकार्य गर्नु वस्तुगत हुँदैन। देश संकटमा छ, त्यसबाट मुलुकलाई निकास दिन सबै पक्षले मिलेर अघि बढ्नुपर्छ।”

भृकुटीमण्डपको सभामा नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो। सो अवसरमा नयाँ एकीकृत दलले आगामी दिनमा वैज्ञानिक समाजवादका सिद्धान्तअनुसार देशलाई रूपान्तरण गर्ने लक्ष्य प्रस्तुत गरेको थियो।


सम्बन्धित समाचार