Logo

२२ कात्तिक,वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत पाउने सम्भावना संकटमा परेको छ। सत्ता गठबन्धनभित्रकै दुई सांसदले विद्रोह गरेपछि उनको सरकार अल्पमतमा पर्ने स्थिति देखिएको हो।

शनिबार बसेको प्रदेशसभाको बैठकमा सत्ता पक्षका ५४ जना सांसद मात्र उपस्थित थिए। तर नेकपा (माओवादी केन्द्र) का दुई प्रदेश सांसद — रहबर अन्सारी र माला राई — ले सदनमै सरकारविरुद्ध विद्रोह गर्दै विश्वासको मत नदिने घोषणा गरेपछि सोनलको सरकार संकटमा परेको हो।

विश्वासको मतको मतदान सुरु भए पनि असमंजस बढेपछि मत विभाजन प्रक्रिया केहीबेरका लागि रोकिएको छ।

१०७ सदस्यीय प्रदेशसभामा सरकारलाई कायम रहन कम्तीमा ५४ मत आवश्यक पर्छ। तर जनमत पार्टीबाट छुट्टिएर जनस्वराज पार्टीमा गएका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह र पूर्वमन्त्री त्रिभुवन शाह आजको मतदानमा अनुपस्थित छन्।

मधेस प्रदेशसभामा लोसपाका ८, जसपाका १८, जनमतका १३, नेकपा (माओवादी केन्द्र) का ९ र एकीकृत समाजवादीका ७ सांसद छन्। यस्तै नागरिक उन्मुक्ति पार्टीले सोनल सरकारलाई समर्थन गर्ने घोषणा गरिसकेको छ।

तर संघीय समाजवादी पार्टीकी सांसद बिमला अन्सारी आज अनुपस्थित रहँदा सत्तापक्षको मत घटेको छ। माओवादी सांसदहरूको असमर्थन र गठबन्धनभित्रको असहमतिले गर्दा मुख्यमन्त्री सोनलको सरकार अल्पमतमा पर्ने अवस्था सिर्जना भएको राजनीतिक विश्लेषकहरूको आकलन छ।


सम्बन्धित समाचार