Logo

२२ कात्तिक, वीरगञ्ज । काठमाडौंको कीर्तिपुरबाट चोरी भएको मोटरसाइकलसहित एक युवकलाई बारा प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्ति बारा जिल्ला बारागढी गाउँपालिका–३ मुर्किपलिया निवासी २१ वर्षीय सुरेश महतो हुन्।

जिल्ला नुवाकोट तारकेश्वर गाउँपालिका–३ बस्ने विनोद श्रेष्ठको नाममा दर्ता भएको बागमती प्रदेश ०२–०४० प ४५६७ नम्बरको २२० सिसी क्षमताको बजाज पल्सर मोटरसाइकल कीर्तिपुर नगरपालिका–६ मञ्जु श्रीपार्क क्षेत्रबाट चोरी भएको थियो।

श्रेष्ठले गत जेठ २५ गते दिउँसो ३ बजे मोटरसाइकल पार्किङमा राखेको अवस्थामा हराएको भन्दै प्रहरी वृत्त कीर्तिपुरमा उजुरी दिएका थिए।

उक्त मोटरसाइकलको खोजतलास गर्ने क्रममा बारा जिल्लाको बारागढी गाउँपालिका–३ श्रीपुरा टोलमा खटिएको प्रहरी टोलीले यही २१ कात्तिक बेलुकी ९ बजे चोरीको मोटरसाइकल फेला पारेको हो।

इलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको टोलीले सवारीसाधन जाँच गर्ने क्रममा फर्जी नम्बर प्लेट (बागमती प्रदेश ०२–०४० प २३१९०) प्रयोग गरी मोटरसाइकल चलाइरहेको अवस्थामा महतोलाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीले पक्राउ परेका महतोसहित बरामद मोटरसाइकललाई आवश्यक अनुसन्धानका लागि राखिएको जनाएको छ।


सम्बन्धित समाचार
भर्खरै