२३ कात्र्तिक, काठमाडौँ । नेपाल जेन–जी फ्रन्टले गत भदौ २३ र २४ गते भएको ‘जेन–जी विद्रोह’ लाई संस्थागत गर्दै आफ्नो अभियानलाई राष्ट्रव्यापी रूपमा फैलाउने उद्देश्यले केन्द्रीय तथा प्रदेशस्तरीय संरचनाहरू विस्तार गरेको छ ।
यो फ्रन्ट सुशासन, पारदर्शिता, जवाफदेहीता र डिजिटल अभिव्यक्ति स्वतन्त्रताको पक्षमा र भ्रष्टाचार, कुशासन तथा डिजिटल निरंकुशताको विरुद्धमा सशक्त रूपमा सक्रिय रहेको जनाइएको छ । हालै सम्पन्न केन्द्रीय संयोजन समितिको अनलाइन बैठकले सातै प्रदेशमा सम्पर्क व्यक्तिहरू नियुक्त गर्नुका साथै केन्द्रीय विभागीय सदस्यहरू पनि तोकेको छ, जसको माध्यमबाट देशभरका जेन–जी, युवा र विद्यार्थीहरूलाई एउटै छातामुनि ल्याई समन्वय गरिने लक्ष्य राखिएको छ ।
जनसम्पर्क समितिमा रितु खड्का, अभियान समितिमा अमृता बन र सूचना प्रविधि समितिमा संविधान प्रसाईलाई केन्द्रीय विभागीय सदस्यको जिम्मेवारी दिइएको छ ।
यसैगरी, प्रदेश १ मा रोहन दंगाल, मधेशमा मो। नजरे आलम, बागमतीमा सचिन चापागाईं, गण्डकीमा साबिज मिया, लुम्बिनीमा सौरभ न्यौपाने, कर्णालीमा बिनिता बोगटी र सुदूरपश्चिममा नवीन बिष्टलाई प्रादेशिक सम्पर्क व्यक्तिको रूपमा तोकिएको फ्रन्टले जनाएको छ । फ्रन्टले आम नागरिकलाई भ्रष्टाचार र कुशासनविरुद्धको यस महत्त्वपूर्ण अभियानमा जोडिन आह्वान गर्दै राष्ट्रिय रूपमा आफ्नो प्रभाव बढाएको छ।
















