Logo

२३ कात्र्तिक, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी प्रतिनिधिसभा निर्वाचनलाई सफल पार्न आह्वान गर्दै युवा पुस्ताको सुशासन र तीव्र विकासप्रतिको चाहनालाई सम्बोधन गर्न लोकतन्त्रको सुदृढीकरण अपरिहार्य रहेको बताउनुभएको छ ।

सार्वजनिक सेवा प्रसारण नेपालको प्रथम वार्षिकोत्सव र एन टिभी वर्ल्डको औपचारिक शुभारम्भ समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले फागुन २१ मा तोकिएको निर्वाचनलाई सफल बनाउन सञ्चारमाध्यमहरूको भूमिका झनै प्रभावकारी हुनुपर्ने आजको आवश्यकता औँल्याउनुभयो । उहाँले नेपाली जनताको ठूलो बलिदानीबाट स्थापित लोकतन्त्रको प्रतिफल जनतासम्म पुर्‍याउन सञ्चारमाध्यमको योगदान महत्वपूर्ण हुनेमा जोड दिनुभयो ।

साथै, उहाँले सार्वजनिक सेवा प्रसारण कुनै सरकारी वा व्यावसायिक स्वार्थमा नभई, सरकारको हस्तक्षेप र व्यावसायिक दबाबभन्दा माथि उठेर नागरिकको हित र राष्ट्रहितमा काम गर्ने संस्था हुनुपर्नेमा स्पष्ट पार्नुभयो ।

पछिल्लो समय गलत सूचना, भ्रामक समाचार र अफवाह फैलिने क्रम बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै राष्ट्रपतिले इन्टरनेट प्रविधिको दुरुपयोगबाट जनतालाई जोगाउन सत्य, तथ्य र विश्वसनीय सूचना प्रवाह गर्ने जिम्मेवार आमसञ्चार माध्यमको ठूलो दायित्व रहेको बताउनुभएको छ।


सम्बन्धित समाचार