२८ कात्तिक,वीरगञ्ज ।पर्सा प्रहरीले सामाजिक सञ्जालको दुरुपयोग गरी ठगी तथा अवैध वित्तीय कारोबारमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक नाबालक पनि रहेका छन्। यस समूहले विभिन्न व्यक्तिहरूलाई लोभ–लालच देखाई फेसबुक तथा अन्य अनलाइन प्लेटफर्ममार्फत खाता खोलाउने, फिसिङ, ओटीपी फ्रड, नक्कली जागिर दिने प्रलोभन जस्ता गतिविधि सञ्चालन गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि बहादुर बस्नेतका अनुसार पक्राउ पर्नेहरूमा बाराको विश्रामपुर गाउँपालिका–२ का २१ वर्षीय राहुल मण्डल, वीरगञ्ज महानगरपालिका–२९ मुसौली टोलका ३५ वर्षीय कृष्णप्रसाद साह तथा सोही स्थानका १४ वर्षीय एक नाबालक रहेका छन्। उनीहरूलाई कात्तिक २६ गते दिउँसो १२ बजे वीरगञ्ज–८ स्थित प्रभु अस्पताल अगाडिको सडकखण्डबाट पक्राउ गरिएको हो।
प्रहरीले प्रारम्भिक अनुसन्धानपछि जनाएको अनुसार, पक्राउ परेकाहरूले सर्वसाधारणलाई ‘अनलाइन खाता खोली कमिशन कमाउने’, ‘अन्तर्राष्ट्रिय जागिरका अवसर’ र ‘अनलाइन व्यापारमा लगानी’जस्ता प्रलोभनमा पारेर उनीहरूका बैंक खाता, डिजिटल वालेट तथा व्यक्तिगत विवरण संकलन गर्थे। सो विवरण प्रयोग गरी उनीहरूले अवैध वित्तीय कारोबार गर्ने, रकम तानातान गर्न सहयोग पुर्याउने र अन्तर्राष्ट्रिय सञ्जालसँग मिलेर रकम सर्कुलेसन गर्ने गतिविधि सञ्चालन गर्दै आएको पाइएको छ।
१० करोडभन्दा बढीको अवैध कारोबार
प्रहरीका अनुसार समूहले विभिन्न व्यक्तिका बैंक खाता र मोबाइल वालेट प्रयोग गरी अहिले सम्म १० करोड रुपैयाँभन्दा बढी रकम आवत–जावत गरेको तथ्य खुलेको छ। यसरी कारोबार भएको रकमको स्रोत शंकास्पद रहेको तथा साइबर क्राइमलगायत विभिन्न वित्तीय अपराधसँग सम्बन्धित रहेको आशंका गरिएको छ।
अनुसन्धानका क्रममा प्रहरीले उनीहरूबाट विभिन्न बैंकका ४३ वटा एटीएम कार्ड बरामद गरेको जनाएको छ। यी कार्डहरू कसरी प्राप्त गरिए, कसका नाममा दर्ता छन्, र कुन माध्यममार्फत रकम कारोबार भयो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनामाथि बैंकिङ कसुरसम्बन्धी मुद्दा दायर गर्ने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए। जिल्ला अदालत पर्साबाट ३ दिनको म्याद थप गरी उनीहरूमाथि विस्तृत अनुसन्धान भइरहेको छ। यस क्रममा डिजिटल उपकरण, मोबाइल, बैंक खाता तथा नेटवर्क ट्रान्जेक्सनको विवरण पनि खोतलिने तयारी भएको प्रहरीले जनाएको छ।
सामाजिक सञ्जालमार्फत हुने ठगीका घटनामा पीडितले समयमा नै जानकारी गराए रकम जोगिन सक्ने बताउँदै, पर्साका प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेका छन्। उनका अनुसार, ठगी भएको ४८ घण्टाभित्र सम्बन्धित बैंक वा नेपाल प्रहरीको नम्बर १०० मा सम्पर्क गरेमा ठगी गरिएका रकम फिर्ता ल्याउन सकिने सम्भावना धेरै हुन्छ। उनले साइबर अपराधमा संलग्न समूहहरू सक्रिय भएको बताउँदै, यस्ता घटना देखिए तत्काल सूचना दिनुपर्ने आवश्यकता औंल्याए।
प्रहरीले सामाजिक सञ्जालमा अनजान व्यक्तिसँग व्यक्तिगत विवरण, बैंक खाता नम्बर, ओटीपी, पासवर्ड वा अन्य गोप्य जानकारी नदिन अनुरोध गरेको छ। अनलाइन खाता खोलिदिने, ‘सजिलो कमाइ’को प्रलोभन तथा ‘जागिर पाइदिन्छु’ भन्ने छलकपटमा नपर्न चेतावनी दिइएको छ।
















