Logo

२९ कार्तिक, काठमाडौँ । व्यावसायिक भिसामा नेपाल बसेर नेपाली युवतीलाई चिनियाँ नागरिकसँग विवाह गराउने अवैध गतिविधिमा संलग्न चार जना चिनियाँ नागरिकलाई अध्यागमन विभागले पक्राउ गरेको छ।

काठमाडौँको सोह्रखुट्टे–मिलीजुली चोक क्षेत्रमा गुप्त रूपमा सञ्चालन हुँदै आएको ‘म्यारिज ब्युरो’मा छापा मारेर उनीहरूलाई नियन्त्रणमा लिइएको विभागले जनाएको छ।

अध्यागमन विभागका निर्देशक टीकाराम ढकालका अनुसार पक्राउ परेकामध्ये एक महिला र तीन पुरुष छन्। उनीहरूले कमजोर आर्थिक हैसियत भएका नेपाली युवतीलाई लक्ष्य बनाउँदै चिनियाँ पुरुषसँग विवाह गराइदिने नाममा अवैध रूपमा व्यवसाय चलाउँदै आएको पाइएको छ।

व्यावसायिक भिसा लिएर नेपाल बसेका उनीहरूले आफ्नो वैध व्यवसायबारे स्पष्ट विवरण दिन नसकेको विभागको भनाइ छ। अनुसन्धानका क्रममा उनीहरूले नेपाली किशोरीलाई टिकटक भिडियो बनाउन लगाई विदेशी नागरिकसँग सम्पर्क बढाउने र त्यसै प्रक्रियाबाट विवाहका लागि चिनियाँ व्यक्तिहरूसँग जोडाउने काम गरेको खुलेको छ। विभागले केही युवतीलाई विवाहका नाममा चीनसमेत पठाइएको तथ्यसमेत फेला पारेको छ।

पक्राउ परेकामध्ये दुई जना विगत १० वर्षदेखि पर्यटक, अध्ययन तथा व्यावसायिक भिसा नवीकरण गर्दै नेपाल बस्दै आएको पाइएको छ।

विद्यमान कानुन अनुसार, गैरकानुनी रूपमा बसोबास गर्ने वा भिसाको दुरुपयोग गर्ने विदेशी नागरिकलाई ५० हजार रुपैयाँसम्म जरिवाना गराई नेपालबाट निष्कासन गर्न सकिने व्यवस्था छ। अध्यागमनले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।


सम्बन्धित समाचार