२९ कात्तिक,काठमाडौं । नेपाल र भारतबीच रहेको खुला सिमाना केवल मानिसहरूका लागि मात्र नभएर दुई देशको सीमा क्षेत्रमा रहेका विभिन्न वन्यजन्तुहरूको लागि पनि आवागमनको मार्ग हो। तराई क्षेत्रका जङ्गलहरू आपसमा जोडिएका कारण यहाँ जङ्गली जनावरहरूको आवागमन नियमित हुने गर्दछ।
विशेषगरी पश्चिम नेपालस्थित बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको उत्तर प्रदेशस्थित कतर्नियाघाट वाइल्डलाइफ सेन्चुरीबीच जङ्गली हात्तीहरूको परम्परागत बसाइँ सर्ने मार्ग रहेको छ। हरेक वर्ष सयौँ हात्तीहरू खाद्यान्न खोजी र वर्षाको पानीबाट बच्न यस मार्ग प्रयोग गर्दै नेपाल–भारत आवतजावत गर्छन्।
तर, मानव निर्मित संरचना, बस्ती, खेती तथा तारबारले परम्परागत मार्ग अवरुद्ध हुन थालेपछि हात्ती–मानिस द्वन्द्व बढ्दो देखिएको छ। यसले हात्तीहरूको प्राकृतिक व्यवहारमा अवरोध पुर्याउँदा जनधन र मानव सुरक्षा दुवैमा असर पुगेको छ।
हात्तीको समूहको नेतृत्व प्रायः पोथी हात्तीले गर्ने गर्छ भने समूहमा ठुलो भाले हात्ती बडीगार्डको भूमिका निर्वाह गर्छ। हात्तीहरू सानो छँदा हिँडेको मार्गमा बुढेसकालसम्म चल्ने र खानेकुरा तथा खनिजको ठेगाना सम्झने क्षमतासमेत हुन्छ।
विज्ञहरूको सुझाव अनुसार, हात्तीहरूलाई परम्परागत मार्गबाट नै हिँड्न अनुमति दिइयो भने मानव–हात्ती द्वन्द्व घटाउन सकिने र दुवै पक्षको सुरक्षामा सुधार ल्याउन सकिने विश्वास व्यक्त गरिएको छ।

















