१ मंसिर, काठमाडौँ । मधेस प्रदेशको राजनीतिमा ठूलो हलचल ल्याएको प्रदेश सभामुख रामचन्द्र मण्डलको निर्णयविरुद्ध सर्वोच्च अदालतमा आज सुनुवाइ सुरु भएको छ ।
लगातार १० वटा प्रदेशसभा बैठकमा अनुपस्थित भएको भन्दै सभामुखले पदमुक्त गरेका पाँच जना प्रदेश सांसदहरूले दायर गरेको रिट निवेदनमा न्यायाधीश नित्यानन्द पाण्डेको इजलासमा सुनुवाइ भइरहेको छ । पदमुक्त हुने सांसदहरूमा जनता समाजवादी पार्टी (जसपा) नेपालका चार जना (मनिषकुमार सुमन, सञ्जयकुमार यादव, सिंहासन सा कलवार र शारदा शंकरप्रसाद कलवार) र नागरिक उन्मुक्ति पार्टीकी एक जना (उर्मिलादेवी सिंह) रहेका छन् । निवेदक सांसदहरूले मधेस प्रदेशसभा सचिवालय, सचिव र सभामुखलाई नै प्रतिवादी बनाएर रिट निवेदन दिएका छन् ।
सभामुखले गत बिहीबार ती पाँच जना सांसदलाई पदमुक्त गर्ने निर्णय सार्वजनिक गरेका थिए । यो निर्णय सोही दिन नेपाली कांग्रेससहित सात दलीय गठबन्धनका ६४ जना प्रदेशसभा सदस्यहरूले सभामुख रामचन्द्र मण्डलविरुद्ध ‘पद अनुकूल आचरण नगरेको’ भन्दै महाभियोगको प्रस्ताव दर्ता गराउन पुगेपछि त्यसको काउन्टरमा आएको थियो ।















