१ मंसिर, काठमाडौं । राजदूत फिर्ता बोलाउने सरकारको निर्णयलाई यथास्थितिमा राख्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशको पालना नगरेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतको अवहेलना सम्बन्धी रिट निवेदन दर्ता भएको छ ।
प्रधानमन्त्री कार्की, जो पूर्व प्रधानन्यायाधीशसमेत हुन्, उनीविरुद्ध यस किसिमको मुद्दा दायर भएको यो पहिलो घटना हो । एडभोकेट प्रेम सिलवालले दायर गरेको यस रिट निवेदनको पेसी यही मंसिर ७ गतेका लागि तोकिएको छ। हालै जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारले अघिल्लो सरकारको पालामा नियुक्त भएका ११ देशका राजदूतहरूलाई असोज ३० गते फिर्ता बोलाउने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध अदालतमा रिट परेपछि न्यायाधीशद्वय सारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले कात्तिक १६ गते निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको थियो ।
तर, अदालतको आदेशको भोलिपल्टै प्रधानमन्त्री कार्कीले नै सम्हालेको परराष्ट्र मन्त्रालयले फिर्ता बोलाइएका राजदूतहरूलाई मन्त्रालयमा हाजिर हुन निर्देशन जारी गरेको थियो, जसको पालना गर्दै राजदूतहरू फर्किएका थिए। सर्वोच्च अदालतको आदेशको ठाडो उल्लंघन भएको भन्दै प्रधानमन्त्रीविरुद्ध यो अवहेलना मुद्दा दायर भएको हो ।















