१ मंसिर, काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारले घोषणा गरेको आगामी फागुन २१ गतेको निर्वाचन तोकिएकै समयमा सम्पन्न गर्नका लागि सबै राजनीतिक दलहरूको सहमति अनिवार्य रहेको बताउनुभएको छ ।
सोमबार पार्टी मुख्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै संयोजक दाहालले निर्वाचनको वातावरण निर्माणका लागि सबै दलहरू जिम्मेवारीपूर्वक र गम्भीरताका साथ निर्वाचन प्रक्रियामा लाग्नुपर्नेमा जोड दिनुभयो ।
प्रचण्डले घोषित निर्वाचन समयमा नै हुनुपर्छ भन्ने आफ्नो अडान दोहोर्याउँदै, ‘समयमा नै होस् भन्नको निम्ति वातावरण बनाउन सबैको बीचमा सहमति चाहिन्छ,’ भन्नुभयो । उहाँले निर्वाचनको सुनिश्चितताका लागि बृहत् राजनीतिक समझदारी आवश्यक रहेको संकेत गर्नुभएको छ । यसैबीच, उहाँले पार्टीको पूर्वपदाधिकारीहरूको बैठक भोलि मंगलबार टुङ्ग्याउने जानकारी पनि दिनुभयो ।















