१ मंसिर,वीरगञ्ज । नेकपा एमाले पर्सा जिल्ला कमिटीको पाँचौँ पूर्ण बैठक सोमबार दिउँसोदेखि वीरगन्जमा सुरु भएको छ। पार्टीका शीर्ष नेताहरूको उपस्थिति रहेको बैठक जिल्ला अध्यक्ष डा. विश्वम्भर शर्माको अध्यक्षतामा प्रारम्भ गरिएको हो।
बैठकका प्रमुख अतिथि पार्टीका केन्द्रीय सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठ रहेका छन्। त्यस्तै, पर्सा इन्चार्ज प्रभु हजरा र केन्द्रीय सदस्य निर्मला देवकोटा विशेष अतिथिका रूपमा सहभागी छन्। जिल्ला कमिटीका सचिवालय सदस्यहरू तथा अन्य पदाधिकारीहरूको सहभागिता पनि उल्लेखनीय रहेको छ।
बैठकमा संगठन सुदृढिकरण, क्षेत्रीय समन्वय, पार्टी संरचना विस्तार तथा आगामी राजनीतिक रणनीतिबारे विस्तृत छलफल हुने बताइएको छ। यस बैठकले पर्सा जिल्लामा एमाले संगठनलाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।