१ मंसिर, काठमाडौं । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ ।
राजधानी ढाकास्थित न्यायाधीकरणले गत वर्ष जुलाई-अगस्टमा भएको विद्रोहका क्रममा भएका मानवीय अपराधहरूको आरोपमा भारतमा निर्वासनमा रहेकी हसिनाको अनुपस्थितिमै मुद्दा चलाएर यो ऐतिहासिक फैसला गरेको हो । न्यायाधीश मोहम्मद गुलाम मुर्तजा मजुमदारको इजलासले ४५३ पृष्ठ लामो फैसला सुनाउने क्रममा तत्कालीन प्रधानमन्त्री हसिनालाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको हो। यसै क्रममा तत्कालीन गृहमन्त्री आसदुज्जामान खान कमाललाई पनि मृत्युदण्डको सजाय सुनाइएको छ।
यद्यपि, तत्कालीन प्रहरी प्रमुख अल ममूनलाई भने सरकारी गवाह बनेका कारण ५ वर्षको जेल सजाय तोकिएको छ। यो फैसला बंगलादेश टेलिभिजनले प्रत्यक्ष प्रसारण गरेको थियो, जसलाई बंगलादेशको न्याय र राजनीतिक इतिहासमा एक असाधारण घटनाका रूपमा हेरिएको छ।















