Logo

१ मंसिर,वीरगञ्ज । धनुषाको मिथिला बिहारी नगरपालिका–२ स्थित कल्चरल भिलेजमा तेस्रो संस्करणको सर्प महोत्सव सुरु भएको छ। मिथिला वाइल्ड लाइफ ट्रस्ट र सेभ द लाइभ्सको संयुक्त आयोजनामा सुरु भएको महोत्सव ‘सर्पको महत्त्व बुझौँ, सहअस्तित्वलाई सम्मान गरौँ, संरक्षणमार्फत भविष्य सुरक्षित गरौँ’ भन्ने मुख्य नारासहित आयोजना गरिएको हो।

महोत्सव सर्प र मानवबीचको सहअस्तित्व, जैविक विविधता संरक्षण तथा पर्यावरणीय सन्तुलनमा सर्पको महत्वपूर्ण भूमिकामाथि जनचेतना फैलाउने उद्देश्यले सञ्चालन गरिएको आयोजक संस्थाका अध्यक्ष देवनारायण मण्डलले बताए।

उनका अनुसार समाजमा अझै पनि सर्पलाई अन्धविश्वास र डरको प्रतिकको रूपमा हेर्ने प्रवृत्ति रहेको हुँदा यसको वास्तविक वैज्ञानिक तथा पर्यावरणीय महत्त्वबारे जानकारी दिन महोत्सव प्रभावकारी माध्यम बन्ने अपेक्षा गरिएको छ। “सर्प केवल डस्ने जीव होइन, वातावरण सन्तुलन कायम राख्ने अत्यन्त महत्वपूर्ण प्राणी हो,” अध्यक्ष मण्डलले भने।

महोत्सवमा सर्पको जीवनचक्र, विषका प्रकार, सर्पदंशपछिको उपचार विधि, उद्धार प्रक्रिया लगायतका व्यावहारिक विषयमा जानकारी दिने प्राविधिक सत्रहरू राखिएका छन्। साथै, सर्प संरक्षणसम्बन्धी चित्र प्रदर्शनी र जीवित सर्प प्रदर्शनीमार्फत सहभागीहरूलाई प्रत्यक्ष अवलोकन र सिकाइको अवसर प्रदान गरिएको छ।

अध्यक्ष मण्डलले सर्प–मानव द्वन्द्व न्यूनीकरण गर्दै सर्पको पर्यावरणीय, चिकित्सकीय, धार्मिक तथा सांस्कृतिक महत्त्वलाई उजागर गर्नु महोत्सवको प्रमुख उद्देश्य रहेको बताए।

स्थानीय नागरिक तथा वातावरणविद्हरूले महोत्सवलाई सर्प संरक्षण र जैविक विविधता संरक्षणसम्बन्धी जनचेतना विस्तारमा महत्वपूर्ण पहलका रूपमा लिएका छन्।


सम्बन्धित समाचार
भर्खरै