२८ फागुन,वीरगञ्ज । नेपाल राष्ट्र बैंक का गभर्नर डा. विश्वनाथ पौडेल ले बैंकिङ कारोबारमा कालोसूचीमा राख्ने प्रावधानबारे केन्द्रीय बैंकले अध्ययन गरिरहेको बताएका छन्।
वीरगञ्जमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर पौडेलले चेक बाउन्स हुने बित्तिकै कालोसूचीमा राख्ने अभ्यासको विषयमा गम्भीर रूपमा समीक्षा भइरहेको जानकारी दिए।
उनले कालोसूचीमा पर्ने व्यक्तिहरूको सूची छोटो बनाउने सम्भावनाबारे पनि अध्ययन भइरहेको बताए। “चेक बाउन्स र बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका धेरै व्यक्ति कालोसूचीमा पर्ने गरेको देखिन्छ,” उनले भने, “कालोसूचीमा राख्नुपर्ने कति हुन् र नराख्नुपर्ने कति हुन् भन्ने विषयमा हामीले हेरिरहेका छौँ।”
गभर्नर पौडेलका अनुसार यस विषयमा विस्तृत अध्ययन गरी आवश्यक सुधारका उपायहरू खोजिनेछ।
कार्यक्रममा उनले अत्यधिक कडाइ गरेर मात्रै व्यापार–व्यवसाय वा मुलुकको अर्थतन्त्र सञ्चालन हुन नसक्ने पनि बताए। व्यवसायमा विभिन्न उतारचढाव र अनुभवपछि मात्रै व्यापार व्यवस्थित रूपमा अघि बढ्ने भएकाले त्यसलाई सहजीकरण गर्ने वातावरण आवश्यक रहेको उनको भनाइ थियो।
“व्यवसायीलाई गाली गरेर मात्रै मुलुकको विकास हुँदैन,” उनले भने, “व्यवसायीलाई प्रवर्द्धन गरेर अघि बढाउनुपर्छ।”
गभर्नर पौडेलले व्यवसाय गर्न खोज्नेले एकपटक गल्ती गर्दैमा कडा दण्ड दिइनु उपयुक्त नहुने उल्लेख गरे।
फरक प्रसङ्गमा उनले डिजिटल प्रविधिमा आधारित सूचना प्रविधि उद्योगलाई राष्ट्र बैंकले प्राथमिकतामा राख्दै आएको बताए। भविष्यमा ठूलो सम्भावना रहेको क्षेत्र भएकाले सूचना प्रविधि उद्योगलाई प्रोत्साहन गर्ने नीति अपनाइएको उनले बताए।
उनका अनुसार बैंक तथा वित्तीय संस्थालाई पनि डिजिटलाइजेसनतर्फ अघि बढ्न राष्ट्र बैंकले प्रोत्साहित गर्दै आएको छ।
गभर्नर पौडेलले विगतमा वीरगञ्जमा फोटो स्टुडियो र गाडी वर्कसप तथा ग्यारेज सेन्टरहरू धेरै भए पनि अहिले ती व्यवसाय क्रमशः घट्दै गएको उल्लेख गर्दै व्यवसायहरू डिजिटल प्लेटफर्मतर्फ सर्दै गएको बताए।
“अब उद्यमी तथा व्यवसायीले समयअनुसार आफूलाई परिवर्तन गर्नुपर्छ,” उनले भने, “व्यवसायलाई डिजिटल रणनीतिसहित अघि बढाउने समय आइसकेको छ।”
उनले नेपाली आइटी कम्पनीहरूलाई विदेशमा लगानी गर्न पनि सहज वातावरण बनाउने प्रयास भइरहेको दाबी गरे

















