२८ फागुन,काठमाडौं । नरेन्द्र मोदी ले रवि लामिछाने र बालेन शाह सँग टेलिफोन संवाद गरेको जानकारी भारतको विदेश मन्त्रालय ले दिएको छ।
बिहीबार आयोजित पत्रकार सम्बोधनमा मन्त्रालयका प्रवक्ता रणधीर जैसवाल ले भारत र नेपाल बीच बहुआयामिक साझेदारी तथा गहिरो सम्बन्ध रहेको स्मरण गराएका छन्।
प्रवक्ता जैसवालका अनुसार प्रधानमन्त्री मोदीले नेपालमा हालै सम्पन्न निर्वाचनपछि नयाँ सरकार र नेपाली जनतासँग मिलेर काम गर्न भारत प्रतिबद्ध रहेको सन्देश दिएका छन्।
“एक असल मित्र र छिमेकीको नाताले भारत नेपालका जनता र नयाँ सरकारसँग नजिक रहेर काम गर्न तथा साझा शान्ति, प्रगति र समृद्धिको नयाँ उचाइमा पुग्न आफ्नो प्रतिबद्धतामा अडिग छ,” उनले भने।
उनले नेपालमा निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा भारतले स्वागत गरेको पनि बताए। साथै आगामी दिनमा दुई देशबीचको सम्बन्ध अझ मजबुत हुँदै जाने अपेक्षा गरिएको उनको भनाइ थियो।
भारतले छिमेकी राष्ट्रसँगको सहकार्यलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै प्रवक्ता जैसवालले नेपालसँगको बहुआयामिक साझेदारीलाई आगामी दिनमा थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे।

















