Logo

२६ जेठ, माडी (चितवन) । चितवन जिल्लाको दक्षिणी सिमानामा अवस्थित माडी क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटनको तीव्र विस्तार भएको प्रमुख गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । भरतपुर महानगरपालिका चौबीसकोठी क्षेत्र बाट करिब ३५ किलोमिटर दक्षिणतर्फ यात्रा गरेपछि सुरु हुने यो हरियाली उपत्यका पूर्व, पश्चिम र उत्तरतर्फ चितवन राष्ट्रिय निकुञ्ज तथा चुरे पहाडले घेरिएको छ भने दक्षिणतर्फ सोमेश्वर पर्वतमालाले यसको प्राकृतिक सौन्दर्यलाई अझ आकर्षक बनाएको छ ।

नेपाल सरकारले परीक्षणका रूपमा दोस्रोपटक लागू गरेको शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा व्यवस्थाले पछिल्लो समय आन्तरिक घुमघाम संस्कृतिमा उल्लेखनीय वृद्धि गरेको छ । सरकारको निर्णयअनुसार वि.सं. २०८२ साल चैत २३ गतेदेखि पुनः परीक्षणका रूपमा लागू गरिएको यो दुईदिने बिदा व्यवस्थापछि लामो सप्ताहान्तको अवसरमा देशका विभिन्न पर्यटकीय गन्तव्यहरूमा आन्तरिक पर्यटकको चहलपहल बढेको देखिएको छ। यही प्रभाव माडी क्षेत्रमा पनि स्पष्ट रूपमा देखिन थालेको स्थानीयहरूले बताएका छन् ।

माडी नगरपालिका २०७१ साल मङ्सिर १६ गते तत्कालीन गर्दी, बघौडा, कल्याणपुर र अयोध्यापुरी गाउँ विकास समितिहरूलाई एकीकृत गरी गठन गरिएको हो । यहाँ थारु, ब्राह्मण, क्षेत्री, नेवार, मगर, गुरुङ, तामाङ, विश्वकर्मा, बोटे, दराई, राई, चेपाङ, गन्धर्व, भुजेल, मधेसी, मुस्लिम लगायत विविध जातजातिको बसोबास रहेको छ, जसले माडीलाई सांस्कृतिक विविधताको अनुपम संगम बनाएको छ ।

माडीको नामकरणबारे विभिन्न किंवदन्तीहरू प्रचलित छन् । एक धारणा अनुसार ऋषि माण्डव्य र माण्डवीले यस क्षेत्रमा तपस्या गरेकाले माडी नाम रहन गएको हो भने अर्को धारणा अनुसार थारु भाषामा पानी जमेको स्थानलाई “माड” भनिने भएकाले “माड–माड” शब्दबाट माडी नाम बनेको मानिन्छ ।

चारैतिर जंगलले घेरिएको, चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको र प्राकृतिक रूपमा समृद्ध माडीलाई रामायण–महाभारतकालीन पौराणिक स्थलका रूपमा समेत लिइन्छ । यहाँ वाल्मीकि आश्रम, सोमेश्वरगढी, भीम इनार, गोद्धकनाथ, परशुराम कुण्ड, देवताखोला, कुकुरनाथ, बिरालनाथ, चन्द्रमाको तपस्या स्थल, सीमास्तम्भ, बैराठ धुनी, रेडहिल पार्क, शालिग्राम पाइने उत्तरवाहिनी खोलाहरू, बुलबुले कुवा, सनीधाम, रेवा त्रिवेणीधाम, पुष्प मदन वाटिका, बैकुण्ठ ताल, चक्रशिला धाम, छरछरे शिव मन्दिर, एकता स्तम्भ पार्क, बादरमुढे पार्क,माछा पालन, खेतीपातीको लागि उर्वर भुमि फार्मेस्टे,सिता गुफा, धनलक्ष्मी झरना, विक्रम बाबा मन्दिर, अयोध्याधाम, चेपाङ नमुना बस्ती, हनुमान पहरो, कालभैरव मन्दिर तथा चितवन राष्ट्रिय निकुञ्जजस्ता थुप्रै धार्मिक तथा प्राकृतिक सम्पदाहरू रहेका छन् ।

यिनै सम्पदाले माडीलाई खुला संग्रहालयजस्तै बनाएको छ, जहाँ प्रकृति, संस्कृति र अध्यात्म एकै ठाउँमा अनुभव गर्न सकिन्छ । बिदा व्यवस्थाले लामो समयको घुमघाम अवसर सिर्जना गरेपछि माडीमा आउने आन्तरिक पर्यटकको संख्या पनि उल्लेखनीय रूपमा बढेको देखिन्छ ।

माडी नगरपालिकाले पर्यटन प्रवर्द्धनका लागि डिजिटल पहल गर्दै ‘माडी एक्स्पो एप’ सञ्चालनमा ल्याएको छ, जसबाट पर्यटकले होमस्टे, धार्मिक स्थल तथा पर्यटकीय गन्तव्यबारे जानकारी लिन र अनलाइन बुकिङ गर्न सक्ने व्यवस्था गरिएको छ ।

माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालका अनुसार माडी अहिले आन्तरिक पर्यटनको प्रमुख गन्तव्यका रूपमा तीव्र गतिमा विकास भइरहेको छ। उनका अनुसार प्राकृतिक सौन्दर्य, धार्मिक सम्पदा, सामुदायिक होमस्टे, कृषि पर्यटन र सांस्कृतिक विविधताले माडीलाई विशिष्ट बनाएको छ र पछिल्लो समय पर्यटक आगमन बिदा व्यवस्थापछि झनै बढेको छ ।

पर्यटन अभियन्ता प्रसाद दवाडीका अनुसार माडीमा रहेका धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाहरूको उचित प्रचार–प्रसार र व्यवस्थापन गर्न सके माडी देशकै उत्कृष्ट आन्तरिक पर्यटन गन्तव्य बन्न सक्ने सम्भावना रहेको छ ।

विगत लामो समयदेखि माडीको पर्यटन प्रवर्द्धन अभियानमा सक्रिय रहँदै आएका दवाडीका अनुसार शनिबार–आइतबार बिदा व्यवस्थाले नयाँ पर्यटकीय गन्तव्य खोज्ने आन्तरिक पर्यटकहरूको संख्या बढाएको छ ।

“माडीमा प्रकृति, संस्कृति, अध्यात्म, कृषि पर्यटन र सामुदायिक जीवनशैलीको अनुपम संगम छ। यी सम्पदालाई योजनाबद्ध रूपमा प्रवर्द्धन गर्न सके पर्यटनमार्फत स्थानीय रोजगारी, आयआर्जन र आर्थिक समृद्धि हासिल गर्न सकिन्छ,” उनले भने ।

माडीमा होमस्टे पर्यटनले पनि छुट्टै पहिचान बनाएको छ। बोटे सामुदायिक होमस्टे (वडा–१), बघौडा थारु सामुदायिक होमस्टे (वडा–३), दराई सामुदायिक होमस्टे (वडा–५), कान्तिपुर गन्धर्व सामुदायिक होमस्टे (वडा–८), माडी भ्यू सामुदायिक होमस्टे (वडा–७), शिवधुवार मगर सामुदायिक होमस्टे (वडा–८), दुरा सामुदायिक होमस्टे (वडा–९) र खरीकुना व्यक्तिगत होमस्टे (वडा–९) सहित विभिन्न फार्मस्टेहरूले पर्यटकलाई स्थानीय जीवनशैलीसँग नजिक बनाइरहेका छन् ।

माडी भ्यू सामुदायिक होमस्टेका सञ्चालक जितबहादुर चापागाईंका अनुसार बिदा व्यवस्थापछि विशेषगरी लामो सप्ताहान्तमा पर्यटक आगमन अझ बढेको छ । उनका अनुसार विभिन्न जिल्लाबाट आउने पाहुनाहरू यहाँको संस्कृति, स्थानीय परिकार र ग्रामीण जीवनशैलीप्रति अत्यन्त आकर्षित हुने गरेका छन् ।

बैकुण्ठधामका अध्यक्ष राजकुमार परियारका अनुसार वैकुण्ठ ताल,धनलक्ष्मी झरना क्षेत्रमा आउने पर्यटक तथा विद्यार्थीहरूको संख्या निरन्तर बढिरहेको छ, जसमा बिदा व्यवस्थाले पनि सकारात्मक प्रभाव पारेको छ ।

माडीमा लामो समय देखि कलम चलाइ रहनु भएका चितवन का अग्रज पत्रकार सूर्य पाठकका अनुसार अध्ययन, धार्मिक भ्रमण, कृषि अवलोकन, होमस्टे अनुभव र प्राकृतिक वातावरणमा समय बिताउन आउने आन्तरिक पर्यटकको संख्या पछिल्ला वर्षहरूमा उल्लेखनीय रूपमा बढेको छ, जसले स्थानीय अर्थतन्त्र र चहलपहल दुवै बढाएको छ ।

अन्ततः प्राकृतिक सौन्दर्य, धार्मिक आस्था, सांस्कृतिक विविधता, जंगल सफारी, कृषि पर्यटन र समृद्ध होमस्टे संस्कृतिको संगमले माडीलाई चितवनको प्रमुख आन्तरिक पर्यटन गन्तव्यका रूपमा स्थापित गरेको छ । सरकारले लागू गरेको लामो सप्ताहान्त (शनिबार र आइतबार बिदा) व्यवस्थाले यो पर्यटन वृद्धिलाई थप गति दिएको स्थानीयहरूको अनुभव छ, जसले माडीलाई सम्पदाले धनी र आकर्षक पर्यटन स्वर्गका रूपमा अझ मजबुत बनाइरहेको छ ।


सम्बन्धित समाचार