Logo

२६ जेठ, काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ ।

फिफा विश्वकप २०२६ को प्रत्यक्ष अवलोकनका लागि मेक्सिको प्रस्थान गर्ने तयारीमा रहेका दुवै पदाधिकारीलाई अध्यागमन कार्यालयले यात्रामा रोक लगाएको हो । अध्यागमन स्रोतका अनुसार उनीहरू यात्रामा प्रतिबन्ध लगाइएको ‘ब्ल्याक लिस्ट’ मा रहेकाले विमानस्थलबाटै फिर्ता गरिएको हो ।

एन्फाभित्रको आर्थिक अनियमितता र विवादका सम्बन्धमा जारी छानबिनका कारण उनीहरूमाथि यो कारबाही भएको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को विशेष सिफारिसमा अध्यागमन विभागले गत वैशाख महिनामै एन्फाका पदाधिकारीहरूलाई विदेश भ्रमणमा रोक लगाएको थियो ।

विश्वकपमा सहभागी हुने उद्देश्यले आफ्नो यात्राको प्रतिबन्ध फुकुवा गरिदिन अध्यक्ष नेम्वाङ र महासचिव राईले सोमबार राखेपमा पुगेर आग्रह गरेका थिए। तर, राखेपले गम्भीर प्रकृतिको छानबिन जारी रहेको भन्दै उनीहरूको निवेदनलाई अस्वीकार गरिदिएको थियो। सोही प्रतिबन्ध यथावत् रहेकाले आज बिहानको उडानबाट उनीहरू फर्किनुपरेको हो।


सम्बन्धित समाचार