२६ जेठ, काठमाडौं । सरकारी स्वामित्वका दुई प्रमुख वाणिज्य बैंकहरूले नयाँ अध्यक्ष पाएका छन् ।
सरकारले कृषि विकास बैंक लिमिटेडको सञ्चालक समिति अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेयलाई नियुक्त गरेको छ भने राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको अध्यक्षको जिम्मेवारी सहसचिव सुमन दाहाललाई सुम्पिएको छ ।
राजनीतिक परिवर्तनसँगै सरकारले अघिल्लो कार्यकालमा नियुक्त भएका पदाधिकारीहरूलाई राजीनामा दिन वा मार्गप्रशस्त गर्न निर्देशन दिएको थियो । सोही नीतिको पालना गर्दै कृषि विकास बैंकका तत्कालीन अध्यक्ष डिमप्रसाद पौडेल र राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष देवकुमार ढकालले आफ्नो पदबाट राजीनामा दिएका थिए ।
दुवै बैंकमा अध्यक्षको पद रिक्त भएपछि अर्थ मन्त्रालयले आफ्ना सहसचिवहरूलाई नै सञ्चालकका रूपमा पठाउँदै नयाँ नेतृत्व चयन गरेको हो । यस नियुक्तिलाई बैंकहरूको प्रशासनिक सुधार र सरकारी नीतिको प्रभावकारी कार्यान्वयनसँग जोडेर हेरिएको छ ।

















