२६ जेठ, काठमाडौं । नेपालको शिक्षा र प्रविधि क्षेत्रमा विशिष्ट पहिचान बनाउनुभएका स्वतन्त्र सांसद महावीर पुन पुनः मन्त्रिपरिषद्मा सामेल हुने भएका छन् ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पुनलाई मन्त्रिपरिषद्मा समावेश गर्ने निर्णय लिनुभएको हो । प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले उहाँको नियुक्तिको पुष्टि गर्दै पुनले आजै ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन’ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने जानकारी दिनुभएको छ ।
महावीर पुनको मन्त्रिपरिषद्मा यो दोस्रो प्रवेश हो । यसअघि उहाँले सुशिला कार्की नेतृत्वको चुनावी सरकारमा शिक्षा मन्त्रीको रूपमा सफलतापूर्वक जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । म्याग्दीबाट प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित पुनलाई निर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समेत समर्थन गरेको थियो ।
विशेष गरी प्रविधिको क्षेत्रमा नयाँ प्रयोग र आविष्कारमा सक्रिय रहँदै आउनुभएका पुनलाई मन्त्री बनाउने प्रधानमन्त्री शाहको निर्णयलाई राजनीतिक वृत्तमा र आम नागरिकले सकारात्मक रूपमा हेरेका छन् । पुनको यो नियुक्तिले विशेष गरी नेपालको विज्ञान र प्रविधि क्षेत्रमा नयाँ नीति तथा कार्यक्रमहरू कार्यान्वयनमा आउने अपेक्षा गरिएको छ ।

















