Logo

२६ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मधेस प्रदेश अधिवेशनसँग सम्बन्धित आफ्ना सम्पूर्ण चुनावी तथा साङ्गठनिक गतिविधिहरू अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले मङ्गलबार एक जरुरी सूचना जारी गर्दै अधिवेशन प्रक्रियामा हाललाई रोक लगाएको हो । अधिवेशनलाई थप निष्पक्ष, पारदर्शी, विश्वसनीय र विधिसम्मत ढङ्गले अघि बढाउनु पर्ने आवश्यकता महसुस गर्दै आयोगले यस्तो निर्णय लिएको जनाएको छ ।

पार्टीको विधान २०७९ (तेस्रो संशोधनसहित) को दफा ४१ र ४९ ले दिएको अधिकार प्रयोग गर्दै आयोगले प्रतिनिधि छनोट, उम्मेदवारी दर्ता, प्रचारप्रसार, बैठक र भेला लगायतका अधिवेशनसँग जोडिएका सबै गतिविधिहरू तत्कालका लागि खारेज गरेको हो ।

यस निर्णयसँगै प्रदेश र जिल्ला तहका नेता(कार्यकर्ताहरूलाई अर्को आधिकारिक निर्देशन नआएसम्म अधिवेशन केन्द्रित कुनै पनि नयाँ कार्यक्रम नगर्न सचेत गराइएको छ । अधिवेशन पुनः सञ्चालन हुने मिति र संशोधित कार्यतालिकाबारे केन्द्रीय निर्वाचन आयोगले छिट्टै आधिकारिक जानकारी दिने बताएको छ ।

आयोगले पार्टीका सम्पूर्ण सदस्य, प्रतिनिधि र उम्मेदवारहरूलाई धैर्यता राख्दै केन्द्रीय निर्णयको पालना गर्न आग्रह गरेको छ । अधिवेशनको तयारी भइरहेको समयमा लिइएको यो निर्णयले मधेस प्रदेशको साङ्गठनिक राजनीतिमा नयाँ तरङ्ग पैदा गरेको छ ।


सम्बन्धित समाचार