२६ जेठ,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बजेट निर्माण प्रक्रियासँग सम्बन्धित विवादको निष्पक्ष छानबिनका लागि अर्थमन्त्री स्वर्णिम वाग्लेको राजीनामा माग गरेको छ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै राप्रपाकी प्रमुख सचेतक खुस्बु ओलीले अर्थमन्त्रीमाथि उठेका प्रश्नहरूको निष्पक्ष र विश्वसनीय छानबिन आवश्यक रहेको बताउँदै छानबिन प्रक्रिया पूरा नहुँदासम्म पदबाट अलग रहन आग्रह गरिन्।
संसद्मा बोल्दै उनले अर्थमन्त्रीले सदनमा उपस्थित भएर आफ्नो धारणा र स्पष्टीकरण दिनुपर्ने बताइन्। तर विषय गम्भीर बन्दै गएको भन्दै निष्पक्ष अनुसन्धान सुनिश्चित गर्न अर्थमन्त्रीले नैतिक जिम्मेवारी वहन गर्नुपर्ने उनको भनाइ थियो।
“आज अर्थमन्त्रीज्यू आउनुभएको छ, उहाँले यस संसद्मा आएर स्पष्टीकरण दिनुहुन्छ होला। तर यो विषय यति गम्भीर भएको छ कि निष्पक्ष र विश्वसनीय छानबिन अब अपरिहार्य बनिसकेको छ,” ओलीले भनिन्।
उनले सुशासन, पारदर्शिता र नैतिकताको दृष्टिकोणबाट छानबिन प्रक्रिया सम्पन्न नहुँदासम्म अर्थमन्त्रीले आफ्नो जिम्मेवारीबाट अलग रहँदै मार्गप्रशस्त गर्नुपर्ने धारणा व्यक्त गरिन्।
राप्रपाले बजेट निर्माण प्रक्रियामा उठेका विवादबारे स्वतन्त्र र निष्पक्ष छानबिन हुनुपर्ने मागसमेत गरेको छ। पार्टीले अनुसन्धान प्रभावित नहोस् भन्ने उद्देश्यले अर्थमन्त्रीले पदमा नरही छानबिनलाई सहयोग गर्नुपर्ने जनाएको छ।
बजेटसँग सम्बन्धित विषयलाई लिएर प्रमुख प्रतिपक्षी दलसहित विभिन्न राजनीतिक दलहरूले सरकारसँग जवाफ मागिरहेका बेला राप्रपाले पनि अर्थमन्त्रीको राजीनामाको माग उठाएको हो।

















