२६ जेठ,वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–३० प्रसोतिपुरमा ट्र्याक्टरले खेत जोत्ने क्रममा रोटाभेटरमा बेरिएर एक बालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सोमबार साँझ करिब ७ बजे मधेश प्रदेश ०३–००१ त ८१७६ नम्बरको ट्र्याक्टरले खेत जोतिरहेको अवस्थामा स्थानीय नुरैन मियाँका ५ वर्षीय छोरा सोनु अन्सारी रोटाभेटरमा बेरिएका थिए।
घटनामा गम्भीर घाइते भएका अन्सारीलाई तत्काल उपचारका लागि अस्पताल पुर्याइएको थियो। तर चिकित्सकले ईसीजी परीक्षण गर्दा साँझ करिब ७ः३० बजे उनको मृत्यु भएको पुष्टि गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बालक आफ्नै खेतमा ट्र्याक्टरले जोत्ने काम भइरहेका बेला दुर्घटनामा परेका हुन्। घटनापछि स्थानीय क्षेत्रमा शोक छाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

















