२६ जेठ,वीरगञ्ज । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि मधेश प्रदेश सरकारले संघीय सरकारबाट अनुदान तथा राजस्व बाँडफाँटमार्फत ३० अर्ब ४१ करोड ८५ लाख रुपैयाँभन्दा बढी प्राप्त गर्ने भएको छ।
संघीय सरकारले सार्वजनिक गरेको बजेट तथा वित्तीय हस्तान्तरण विवरणअनुसार मधेश प्रदेशले समानीकरण अनुदानतर्फ ७ अर्ब ८४ करोड ८५ लाख रुपैयाँ प्राप्त गर्नेछ। यस्तै राजस्व बाँडफाँटमार्फत प्रदेशले १२ अर्ब ८३ करोड रुपैयाँ पाउने अर्थ मन्त्रालयले जनाएको छ।
त्यसैगरी सशर्त अनुदानअन्तर्गत ८ अर्ब १० करोड रुपैयाँ उपलब्ध गराइने भएको छ। विभिन्न विकास आयोजना तथा कार्यक्रम सञ्चालनका लागि विशेष अनुदान शीर्षकमा ७० करोड रुपैयाँ तथा समपूरक अनुदानअन्तर्गत ९४ करोड रुपैयाँ प्राप्त हुने जनाइएको छ।
यसरी समानीकरण, सशर्त, विशेष र समपूरक अनुदानका साथै राजस्व बाँडफाँट गरी मधेश प्रदेशले आगामी आर्थिक वर्षमा संघीय सरकारबाट कुल ३० अर्ब ४१ करोड ८५ लाख रुपैयाँ प्राप्त गर्ने भएको हो।
मधेश प्रदेशका अर्थमन्त्री युवराज भट्टराई ले संघीय सरकारबाट प्राप्त हुने अनुदान तथा राजस्व बाँडफाँट रकमसँगै प्रदेशको आन्तरिक स्रोतलाई समेत समेटेर आगामी आर्थिक वर्षको बजेट तयारी भइरहेको जानकारी दिए।
प्रदेश सरकारले प्राप्त गर्ने यी स्रोतहरू पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी तथा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने कार्यक्रमहरूमा खर्च गर्ने अपेक्षा गरिएको छ।
संघीय सरकारबाट प्राप्त हुने अनुदान तथा राजस्व बाँडफाँट मधेश प्रदेशको विकास बजेटको प्रमुख आधार मानिन्छ। प्रदेश सरकारले आगामी वर्षमा विकास निर्माणका कामलाई गति दिन तथा नागरिकलाई आधारभूत सेवा सहज रूपमा उपलब्ध गराउन यी स्रोतहरूको प्रभावकारी उपयोग गर्ने तयारी गरेको जनाएको छ।

















