२६ जेठ,काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारका नवनियुक्त आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारीलाल अहिरलाई तत्काल बर्खास्त गर्न माग गरेको छ।
पार्टीका प्रवक्ता मनिषकुमार सुमनले मंगलबार विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतले जसपालाई अमान्य ठहर गरी जसपा नेपाललाई वैधानिकता प्रदान गरिसकेको अवस्थामा अहिरको मन्त्री नियुक्ति असंवैधानिक र गैरकानुनी भएको दाबी गरेका छन्।
विज्ञप्तिमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संवैधानिक तथा कानुनी व्यवस्थाको बेवास्ता गर्दै मन्त्री नियुक्ति गरेको आरोप लगाइएको छ। जसपा नेपालले उक्त निर्णयलाई लोकतान्त्रिक मूल्य–मान्यता र कानुनी शासनविरुद्धको कदमका रूपमा व्याख्या गरेको छ।
“संवैधानिक र कानुनी वस्तुस्थितिको धज्जी उडाउँदै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चालेको अनैतिक र स्वेच्छाचारी कदमप्रति हाम्रो पार्टी घोर आपत्ति प्रकट गर्दछ,” विज्ञप्तिमा उल्लेख छ।
पार्टीले मन्त्री अहिरको नियुक्तिलाई कानुनी राज्यको उपहास, लोकतन्त्रमाथिको प्रहार तथा बलमिच्याइँको पराकाष्ठा भन्दै तत्काल पदमुक्त गर्न माग गरेको छ।
जसपा नेपालले आफ्नो मागलाई बेवास्ता गरिए कानुनी उपचारको बाटो अपनाउने चेतावनीसमेत दिएको छ। विज्ञप्तिमा अदालतको आदेशको अवज्ञा गर्दै अघि बढ्ने प्रयास भए लुम्बिनी प्रदेश प्रमुख, मुख्यमन्त्री तथा सत्ता साझेदार दलहरू एमाले र कांग्रेसविरुद्ध कानुनी प्रक्रिया अघि बढाइने उल्लेख गरिएको छ।
पार्टीले सम्मानित अदालतको आदेश र संवैधानिक व्यवस्थाको पालना गर्न प्रदेश सरकारलाई आग्रह गरेको छ।
उल्लेखनीय छ, एक साताअघि लुम्बिनी प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री नियुक्त भएका भण्डारीलाल अहिरले सोमबार मात्रै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए। उनको नियुक्तिलाई लिएर जसपा नेपालले तीव्र असन्तुष्टि जनाउँदै आएको छ।

















