२६ जेठ, काठमाडौं । साताको कारोबारको दोस्रो दिन मङ्गलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य गिरावट देखिएको छ ।
कारोबार अवधिभर बजारमा उतारचढाव कायम रहे पनि अन्तिम समयमा १ दशमलव ५४ अङ्कको गिरावटसँगै नेप्से २७३३ दशमलव ५९ विन्दुमा अडिएको छ । बजारमा सामान्य दबाब देखिए पनि कारोबार रकम भने उत्साहजनक रहेको छ । आज ३५७ कम्पनीका १ करोड २३ लाख कित्ता सेयर किनबेच हुँदा कुल ६ अर्ब ४४ करोड ३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
बजारको सेन्टिमेन्टमा मिश्रित प्रभाव देखिएको छ, जसमा १५१ कम्पनीको सेयर मूल्य घट्दा १०५ कम्पनीको मूल्यमा वृद्धि भएको छ, जबकि १५ वटाको मूल्य स्थिर रहेको छ ।
आजको बजारमा सोपान फर्मास्युटिकल्स, कालिञ्चोक हाइड्रोपावर र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताहरू सर्वाधिक नाफा कमाउने सूचीमा रहेका छन्, जसमध्येका पहिलो दुई कम्पनीको मूल्यमा करिब १५ प्रतिशतको वृद्धि देखिएको छ । अर्कोतर्फ, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक ९।१६ प्रतिशत गुमाएका छन् ।
कारोबार रकमको आधारमा हेर्दा, कृषि विकास बैंकको डिवेञ्चर (एडीबीएलबी८६) ५७ करोड २ हजार रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ। त्यस्तै, ३५ करोड ९० लाखको कारोबारसहित सेन्ट्रल फाइनान्स दोस्रो स्थानमा कायम छ । बजारमा देखिएको यो सामान्य घटबढलाई लगानीकर्ताहरूले स्वाभाविक ुकरेक्सनु को रूपमा लिएका छन्।

















