२६ जेठ, काठमाडौं । काठमाडौंको गौशाला क्षेत्रमा सामाजिक सञ्जालको दुरुपयोग गर्दै कार र ट्याक्सीमार्फत युवती ओसारपसार गरी अवैध यौनधन्दा चलाउने एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त गौशालाको टोलीले विशेष अपरेसन सञ्चालन गरी ४ पुरुष र १२ युवती गरी १६ जनालाई नियन्त्रणमा लिएको हो । अनुसन्धानका क्रममा उनीहरूले फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र टिकटकजस्ता सामाजिक सञ्जालमार्फत युवतीहरूको तस्बिर तथा भिडियो ग्राहकलाई पठाएर मोलमोलाइ गर्ने र रकम निश्चित भएपछि तोकिएको स्थानमा पुर्याउने गरेको खुलेको छ ।
पक्राउ परेकामध्ये विकास भुलन होटल सञ्चालक हुन् भने विवेक स्याङ्तान ट्याक्सी चालक र राजकुमार गौतम कारका मालिक हुन्। अर्का आरोपित सुनिल तामाङले ग्राहक खोजी गर्ने भूमिका निर्वाह गर्दै आएका थिए । गिरोहले प्रतिग्राहक १० हजार रुपैयाँसम्म असुल्ने गरेको र गौशाला क्षेत्रका विभिन्न होटलहरूमा युवतीहरूलाई पुर्याउने गरेको प्रहरीको दाबी छ । कारबाहीका क्रममा प्रहरीले युवती ओसारपसारमा प्रयोग हुँदै आएको बा२ज २३२७ नम्बरको ट्याक्सी र बीएसी ०८९० नम्बरको कारसमेत नियन्त्रणमा लिएको छ ।
उनीहरूको मोबाइलबाट यौनधन्दा र आर्थिक लेनदेनसँग सम्बन्धित थुप्रै प्रमाणहरू फेला परेको प्रहरीले जनाएको छ । काठमाडौं उपत्यकामा पछिल्लो समय कारमार्फत युवती सप्लाई गर्ने र होटलका स्टाफहरूसँग मिलेर यस्तो धन्दा चलाउने प्रवृत्ति बढेको देखिन्छ ।
यसअघि पनि यस्तै शैलीमा सक्रिय कुलबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको थियो, जसका मोबाइलमा ५० जनाभन्दा बढी युवतीका तस्बिर फेला परेका थिए । अहिले पक्राउ परेका १६ जनाविरुद्ध आवश्यक अनुसन्धान अघि बढाउँदै प्रहरीले कानुनी कारबाहीको प्रक्रिया सुरु गरेको छ ।

















