२६ जेठ, काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठन सम्बन्धी सुझाव कार्यदलको बैठक आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसिरहेको छ ।
उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा गठित १५ सदस्यीय यस कार्यदलले पहिलोपटक बैठक डाकेको हो । गत जेठ १० गतेको सचिवालय बैठकबाट गठित उक्त कार्यदललाई एक महिनाभित्र पार्टी पुनर्गठनको प्रतिवेदन तयार गरी बुझाउने म्याद दिइएको छ ।
पार्टीको विधान अधिवेशनदेखि नै नेतृत्व परिवर्तन र सङ्गठन पुनर्गठनको आवाज उठ्दै आएको थियो, जुन पछिल्लो समय ‘जेनजी’ आन्दोलनपश्चात् थप मुखरित भएको छ । कार्यदल गठन भएको १५ दिनपछि बसेको यो बैठकलाई एमालेभित्रको आन्तरिक सुधार र सङ्गठनको भविष्यका लागि निकै चासोका साथ हेरिएको छ ।
कार्यदलले पार्टीका विभिन्न तहबाट सुझाव सङ्कलन गरी सोही आधारमा सचिवालयलाई आफ्नो अन्तिम प्रतिवेदन बुझाउनेछ ।

















