२६ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आफ्नो मन्त्रिपरिषद्लाई थप विस्तार र पुनर्गठन गर्नुहुने भएको छ ।
मङ्गलबार बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार, प्रतिनिधिसभा सदस्य सुदन गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति राचन्द्र पौडेलसमक्ष सिफारिस गरिएको छ । सम्पत्ति विवरणसम्बन्धी विवादपछि पदबाट राजीनामा दिएका गुरुङमाथि सरकारले गठन गरेको विशेष छानबिन समितिले निर्दोष ठहर गर्दै प्रतिवेदन बुझाएपछि उनको पुनरागमनको बाटो खुलेको हो ।
यसैगरी, प्रधानमन्त्री शाहले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारीका लागि प्रतिनिधिसभा सदस्य महावीर पुनको नाम सिफारिस गर्नुभएको छ। प्रविधि र आविष्कारको क्षेत्रमा राष्ट्रिय स्तरमा विशिष्ट पहिचान बनाउनुभएका पुनको प्रवेशलाई सरकारको एक साहसिक र सकारात्मक निर्णयका रूपमा हेरिएको छ । उहाँको अनुभवले नेपालको नवप्रवर्तन र प्रविधि क्षेत्रमा नयाँ उचाइ प्रदान गर्ने अपेक्षा गरिएको छ ।
नवनियुक्त दुवै मन्त्रीहरूले आजै दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ । यसअघि मन्त्रिपरिषद् बैठकले सुदन गुरुङको सम्बन्धमा पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा गठित छानबिन समितिले पेस गरेको प्रतिवेदन औपचारिक रूपमा ग्रहण गरिसकेको छ । सरकारको यो कदमसँगै गृह प्रशासनले नयाँ गति पाउने र विज्ञान(प्रविधि क्षेत्रले नयाँ नेतृत्व पाउने निश्चित भएको छ ।

















