२६ जेठ, काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यले आफूहरूको माग सम्बोधन नगरेको भन्दै सङ्घीय शिक्षण सिकाइ अनुदान शिक्षकहरू आन्दोलित भएका छन् ।
पेसागत स्थायित्व, सम्मानजनक तलब वृद्धि र सेवा–सुविधाको ग्यारेन्टीको माग गर्दै उनीहरूले आज काठमाडौँको माइतीघरमा सशक्त विरोध प्रदर्शन गरेका छन् । शिक्षकहरूले विगतमा सरकारसँग भएका पटक–पटकका सहमति र सङ्घीय शिक्षा ऐनको मस्यौदामा उल्लेखित व्यवस्थालाई सरकारले जानाजान बेवास्ता गरेको भन्दै आक्रोश पोखेका छन् ।
विशेष गरी २०७८ देखि २०८२ सालसम्मका विभिन्न सम्झौताहरू कार्यान्वयन नहुनु र ६०–४० को अनुपातमा आन्तरिक तथा खुला प्रतिस्पर्धा मार्फत व्यवस्थापन गर्ने सहमतिलाई लत्याइनुले आफूहरूलाई सडकमा आउन बाध्य पारेको सङ्घीय शिक्षण सिकाइ अनुदान शिक्षक केन्द्रीय समितिको भनाइ छ ।
देशभरका करिब ११ हजार अनुदान शिक्षकहरू अहिले आधारभूत र माध्यमिक तहमा गणित, विज्ञान तथा अङ्ग्रेजी जस्ता मुख्य विषय अध्यापन गराइरहेका छन् । तर, सरकारले आफ्नो श्रमको उचित कदर नगरेको र महँगी भत्ता एवं प्रोत्साहन भत्ताको व्यवस्थामा उदासीनता देखाएको उनीहरूको आरोप छ ।
आन्दोलित शिक्षकहरूले सरकारलाई कडा चेतावनी दिँदै आफ्ना मागहरू अविलम्ब सम्बोधन नभए पठनपाठन ठप्प पार्ने र देशव्यापी रूपमा सामूहिक राजीनामा दिने चेतावनी दिएका छन् ।
हिजो बिहानैदेखि शिक्षा तथा मानव स्रोत विकास केन्द्रको प्राङ्गणबाट आन्दोलन सुरु गरेका शिक्षकहरूले आज माइतीघर मण्डलामा विद्यालय पोसाक, परिचयपत्र र मार्कर पेनसहित प्रदर्शन गर्दै सरकारमाथि दबाब बढाएका हुन् । सरकारले वार्ता र संवादको माध्यमबाट समस्याको दीर्घकालीन समाधान नखोजे सामुदायिक विद्यालयहरूको पठनपाठनमा गम्भीर असर पर्ने देखिएको छ ।


















