मनमा अनेकौँ कौतुहलताका छालहरू सल्बलाइरहेका थिए। आफ्नो पसलको काउन्टरबाट दैनिक ग्राहकको हातमा थमाइने सामग्रीहरू वास्तवमा कसरी उत्पादन हुन्छन् होला ? तिनको गुणस्तर मापन गर्ने कसी के होला ? कुन प्रविधि र विशाल मेसिनहरूले ती कच्चा पदार्थलाई चिल्ला पाइप र फिटिङ्समा बदल्छन् होला ? उद्योग सञ्चालकहरूको सोच, कार्यशैली र मजदुरहरूसँगको सम्बन्ध कस्तो होला ? यस्तै जिज्ञासाहरूको भारी बोकेर २०८३ जेठ २२ गते शुक्रबारको एउटा सुनौलो बिहान चितवनको हाकिमचोकस्थित मार्बल ट्रेडर्स प्रा.लि. को आँगनमा हाम्रो टोली जम्मा भयो।
मार्बल ट्रेडर्स प्रा.लि.का अध्यक्ष आदरणीय हरि गैरेको कुशल नेतृत्वमा दुई कर्मचारी र ३९ जना उत्साही व्यवसायी साथीहरू ‘नेपाल दर्शन’ को बसमा सवार भयौँ। ठीक बिहान ६.२१ बजे बसले गति लियो। गुडिरहेको बसको चक्कासँगै हाम्रो उत्साह र नयाँ अनुभवको खोजी पनि अगाडि बढ्दै गयो।
१२ घण्टे यात्रा र कोशीको विशाल जलराशि
चितवनको माटो छोडेर हाम्रो यात्रा मकवानपुर, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिराहा, सप्तरी र सुनसरी हुँदै तराईको समथर राजमार्गमा सुसाउन थाल्यो। बाटोभरि आँखाहरूलाई शितलता दिने हरियाली खेत, विभिन्न जिल्लाका मौलिक बस्ती र तराईको जीवन्त संस्कृतिले यात्रालाई पट्यारलाग्दो हुन दिएन। दिउँसो महोत्तरीको बर्दिबासस्थित ‘गौतम होटल’ मा स्वादिष्ट भोजन गरियो। पूर्व(पश्चिम र बीपी राजमार्गको सङ्गमस्थल बर्दिबास एउटा सुन्दर व्यापारिक केन्द्रका रूपमा जुर्मुराइरहेको आभास भयो।
यात्राको अर्को रोमान्चक विश्राम बन्यो— सप्तरीको बरमझिया । कञ्चनरूपा नगरपालिका–२ मा अवस्थित प्रसिद्ध ‘असली बुढाबाजेको पेडा’ को स्वाद जिब्रोमा भुलिँदा १२ घण्टाको यात्राले कतिखेर साँझ पर्ने बेला भयो, पत्तै पाइएन। यात्राकै क्रममा नेपालको पूर्वी क्षेत्रको जीवनरेखा मानिने कोशी ब्यारेज पार गरियो। नेपाल–भारत जल व्यवस्थापनको यो जीवित साक्षी र कोशीको त्यो विशाल जलराशि हेर्दा प्रकृतिको असीमित शक्ति र त्यससँग जुध्ने मानव सङ्घर्षको जीवन्त तस्बिर आँखा अगाडि तैरियो।
साँझको ६.३० बजे सुनसरीको इटहरीस्थित ‘सोल्टी नेपाली होटल’ पुग्दा शरीर थाके पनि उत्सुकता ताजै थियो। त्यहाँ मार्बल टेक्नोप्लास्ट प्रा।लि। को टोलीले गरेको न्यानो र आत्मीय स्वागतले थकान क्षणभरमै मेटायो। इटहरीको साँझ नियाल्ने क्रममा बैंकिङ क्षेत्रका मेरा अग्रज तथा आदरणीय मित्र भानुभक्त आचार्यसँग कफीको चुस्कीसँगै सामयिक राजनीति र पुराना सम्झनाहरू साटिए, जसले यात्रालाई थप अर्थपूर्ण बनायो।
उद्यमशीलता र आध्यात्मिकताको सुन्दर सङ्गम
भोलिपल्ट बिहान हाम्रो मुख्य गन्तव्य मोरङ जिल्लातर्फ बस सोझियो। चितवनदेखि मोरङसम्म आइपुग्दा हामीले १० वटा जिल्लाको भूमि टेकिसकेका थियौँ। बुढीगंगा गाउँपालिका–४, निम्बुवाचोक नजिकै रहेको ‘मार्बल टेक्नोप्लास्ट प्रा।लि।’ को विशाल गेटभित्र प्रवेश गर्दा कम्पनीका अध्यक्ष महावीर संचेती, सञ्चालकहरू पवन संचेती र सन्दीप संचेतीको परिवार तथा कर्मचारी टोलीले हामीलाई भव्य स्वागत गर्यो। उहाँहरूको अनुहारमा झल्किएको सरलता र व्यवहारको विनम्रताले पहिलो भेटमै हाम्रो मन जित्यो।
उद्योग परिसरभित्र पाइला टेक्नासाथ सुरुमा त्यहाँ स्थापित हनुमान मन्दिरको दर्शन गराइयो। संकटमोचन, शक्ति र निष्ठाका प्रतीक हनुमानको आराधना गरेर मात्र दैनिक काम सुरु गर्ने यो परम्पराले उद्योग र आध्यात्मिकताको एउटा सुन्दर र अनुकरणीय समन्वय प्रस्तुत गरिरहेको थियो।
चिया-नास्तापछि सुरु भयो हाम्रो मुख्य कौतुहलताको निवारण— ‘उद्योग अवलोकन’। अत्याधुनिक मेसिनहरू, कच्चा पदार्थको वैज्ञानिक व्यवस्थापन, अन्तर्राष्ट्रिय मापदण्ड (अमेरिकी स्ट्यान्डर्ड) अनुसारको प्रयोगशालामा भइरहेको गुणस्तर परीक्षण र अनवरत चलिरहेको उत्पादन लाइन नजिकबाट हेर्दा स्वदेशी उद्योगको क्षमताप्रति गर्वले छाती फुल्यो। पीभीसी, सीपीभीसी र एचडीपीई पाइप र फिटिङ्स सामग्रीहरू यसरी आफ्नै देशमा विश्वस्तरीय प्रविधिबाट उत्पादन भइरहेको देख्दा लाग्यो— हामी साँच्चै आत्मनिर्भरतातर्फ पाइला चाल्दै छौँ।
करीब तीन घण्टाको अवलोकनमा सञ्चालक र मजदुरबीचको आत्मीय र मित्रवत् सम्बन्धले मलाई भावुक बनायो। एउटा उद्योग सफल हुन करोडौँको पूँजी र मेसिन मात्र होइन, मानवीय व्यवहार, अनुशासन र परिश्रम पनि उत्तिकै बलियो जग हुनुपर्ने पाठ त्यहाँ सिक्न पाइयो।
मह जोडी सँगको त्यो साङ्गीतिक साँझ
उद्योगपछि सञ्चालकहरूले हामीलाई आफ्नै हाताभित्र रहेको व्यवस्थित गाई फार्म देखाउनुभयो। नेपालको राष्ट्रिय जनावर गाईलाई यति सुविधासम्पन्न र सुरक्षित वातावरणमा राखिएको देख्दा मन आनन्दित भयो। सञ्चालक सन्दीप संचेतीले विभिन्न पुस्ताका गाईहरू देखाउँदै पारिवारिक शैलीमा परिचय गराउनुभयो— “यो हजुरआमा गाई हो, यो यसको नाति हो।” गाईको दूध मुख्य रूपमा बाछाबाछीका लागि मात्र छाडेर बाँकी थोरै घरपरिवारमा प्रयोग गरिने कुराले उहाँहरूको पशुप्रेम र धार्मिक संस्कारको गहिराइ प्रस्ट्याउँथ्यो।
त्यसपछि हामी मोरङको विराटचोकस्थित ‘नेपालीरिका होटल’ पुग्यौँ। साँझको कार्यक्रम अगाडिको खाली समयलाई सदुपयोग गर्दै म, मेरा रूम पार्टनर सुरज थपलिया र मित्र भानुभक्त आचार्यको टोली बेलबारीको प्रसिद्ध ‘श्री बेतना सिमसार सामुदायिक वन’ क्षेत्रको प्राकृतिक सौन्दर्य र गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय परिसर अवलोकन गर्न निस्कियौँ।
साँझ होटलको हलमा भव्य औपचारिक कार्यक्रम सुरु भयो, जहाँ नेपालका सदावहार नक्षत्र एवं आदरणीय कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) को विशेष उपस्थिति थियो। देशका विभिन्न जिल्लाबाट आएका व्यवसायीहरूको बाक्लो उपस्थिति रहेको उक्त समारोहमा कम्पनीको भावी योजना र बजार विस्तारबारे गहन छलफल भयो। औपचारिक सत्रपछिको ‘गाला नाइट’ मा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति र मदनकृष्ण श्रेष्ठका कालजयी सुमधुर गीतहरूले हल गुञ्जायमान भयो। फोटो खिच्ने र मह जोडीसँग भलाकुसारी गर्नेहरूको उत्साहजनक भीड थियो। राति १० बजेको प्रितीभोजपछि हामी सुखद स्मृतिहरू बोकेर सुत्न गयौँ।

मनभित्र जागेको आशा
तेस्रो दिन बिहान ९.१५ बजे चितवन फर्किने यात्रा सुरु भयो। कम्पनी परिवार बसमै आएर भावुक बिदाइ गर्नुभयो। फर्किने क्रममा बसभित्र गीत, सङ्गीत, नृत्य र हाँसोको फोहोरा निरन्तर चलिरह्यो। मार्बल ट्रेडर्सका अध्यक्ष हरि गैरेले यात्राभरि पानी, खाजा र हरेक व्यवस्थापनमा अभिभावकीय भूमिका निर्वाह गरिरहनुभयो। दिउँसो बर्दिबासमा भोजन ग्रहण गर्दै राति ९.४५ बजे हामी पुनः चितवनको हाकिमचोकमा सुरक्षित रूपमा आइपुग्यौँ।
भौतिक यात्रा त सकिएको थियो, तर अनुभव र सिकाइको एउटा अर्को वैचारिक यात्रा मेरो मनभित्र अझै चलिरहेको छ।
देशमा राजनीतिक व्यवस्थाहरू फेरिए, सरकार र नाराहरू बदलिए, तर आम नागरिकको नियति अझै बदलिएको छैन। युवाहरू दैनिक रूपमा विदेश पलायन भइरहेका छन्। यस्तो निराशाजनक समयमा मार्बल टेक्नोप्लास्ट जस्ता स्वदेशी उद्योगहरूले एउटा दह्रो आशाको दियो बालेका छन्। नेपालमै विश्वस्तरीय उत्पादन सम्भव छ, विदेशी सामानसँग प्रतिस्पर्धा गर्न सकिन्छ र हजारौँलाई रोजगारी दिएर देशलाई आत्मनिर्भर बनाउन सकिन्छ भन्ने कुरा यो उद्योगले प्रमाणित गरेको छ। देश निर्माण केवल मञ्चका भाषणले होइन, भुइँ तहको उत्पादन, इमानदार उद्यमशीलता र स्वदेशी उत्पादनप्रतिको साझा विश्वासले मात्र सम्भव छ।
यो यात्रा केवल उद्योगको भौतिक भौतिक संरचना हेर्ने भ्रमण मात्र थिएन, यो स्वदेशी उत्पादन, संस्कार, सरलता र देशको सम्भावनालाई नजिकबाट चिहाउने एउटा जीवन्त र अविस्मरणीय पाठशाला थियो। आयोजक र सम्पूर्ण सहयात्री मित्रहरूमा हार्दिक कृतज्ञता !

















