Logo

२६ जेठ,काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा ले पार्टीका ५ लाखभन्दा बढी क्रियाशील सदस्यहरूले सदस्यता अद्यावधिक गरिसकेको बताएका छन्। पार्टीको सदस्यता अद्यावधिक अभियान उत्साहजनक रूपमा अघि बढिरहेको उल्लेख गर्दै उनले अन्तिम संख्या ६ देखि साढे ६ लाखसम्म पुग्ने अपेक्षा व्यक्त गरेका छन्।

चितवनमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति थापाले सोमबार साँझसम्मको विवरणअनुसार आफैं आवेदन दिएका तथा विभिन्न प्रक्रियामार्फत आएका गरी क्रियाशील सदस्यको संख्या पाँच लाख नाघिसकेको जानकारी दिए।

उनले पार्टीको १५औँ महाधिवेशनका लागि यसअघि ७ लाख ८ हजार क्रियाशील सदस्यता नवीकरण गरिएको स्मरण गराउँदै यसपटक सदस्य संख्या केही घट्नुको कारणबारे पनि स्पष्ट पारे। उनका अनुसार विगतमा महाधिवेशन केन्द्रित रूपमा सदस्यता वितरण गरिएका कतिपय व्यक्तिहरूलाई मात्र संख्या बढाउन क्रियाशील सदस्य बनाउने प्रवृत्ति अन्त्य गर्ने उद्देश्यले नयाँ व्यवस्था लागू गरिएको हो।

“अधिवेशनका लागि मात्रै क्रियाशील बनाइएका व्यक्तिहरू निरन्तर क्रियाशील सदस्य रहिरहने अवस्था नहोस् भन्ने हाम्रो चाहना हो,” थापाले भने।

उनले यसपटक सदस्यता अद्यावधिक प्रक्रियामा व्यक्तिगत सहभागिता अनिवार्य बनाइएको बताए। विगतमा जस्तो एक व्यक्तिले अर्को व्यक्तिको सदस्यता नवीकरण गरिदिने अभ्यासलाई अन्त्य गरिएको र सदस्य बन्न चाहने व्यक्ति स्वयं प्रक्रियामा सहभागी हुनुपर्ने व्यवस्था लागू गरिएको उनको भनाइ थियो।

सभापति थापाका अनुसार हाल जारी प्रक्रियामार्फत पार्टीमा ६ लाखदेखि साढे ६ लाखसम्म वास्तविक तथा सक्रिय क्रियाशील सदस्य अद्यावधिक हुने अपेक्षा गरिएको छ। यो संख्या पार्टी नेतृत्वले प्रारम्भिक रूपमा गरेको अनुमानअनुसारकै रहेको उनले बताए।

आगामी जेठ २८ गतेभित्र सदस्यता अद्यावधिकको काम सम्पन्न गरिने र त्यसपछि बाँकी प्राविधिक तथा संगठनात्मक प्रक्रिया पूरा गरी पार्टीको १५औँ महाधिवेशनसँग सम्बन्धित नियमित कार्यक्रम अगाडि बढाइने थापाले जानकारी दिए।

पार्टीभित्र देखिएका केही आन्तरिक असन्तुष्टि र विवाद समाधानका लागि पनि नेतृत्व सक्रिय रहेको उनले बताए। उनका अनुसार उपसभापति विश्वप्रकाश शर्मा असन्तुष्ट नेताहरूसँग निरन्तर संवादमा रहेका छन् र सहमतिका आधारमा समस्या समाधान गर्ने प्रयास भइरहेको छ।

चितवनको कार्यक्रम सम्पन्न गरेपछि सभापति थापा गोरखा जाने कार्यक्रम रहेको छ।


सम्बन्धित समाचार