२६ जेठ, काठमाडौं । नेकपा (एमाले) ले पार्टीको निर्वाचन समीक्षा, शुद्धीकरण र सङ्गठनात्मक पुनर्गठनका लागि बृहत् सुझाव सङ्कलन अभियान सुरु गर्ने भएको छ ।
उपाध्यक्ष रामबहादुर थापा बादल नेतृत्वको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको मङ्गलबार बसेको बैठकले जेठ ३० गतेदेखि असार १९ गतेसम्म सातै प्रदेश, सम्पर्क समन्वय, जनसङ्गठन र विभिन्न विभागका पदाधिकारीहरूसँग भेला गरी सुझाव सङ्कलन गर्ने तालिका सार्वजनिक गरेको छ ।
पार्टी सङ्गठनलाई थप सुदृढ र रूपान्तरण गर्न तय गरिएको यो अभियानमा सम्बन्धित भूगोलका केन्द्रीय सदस्य, प्रदेश र जिल्ला पदाधिकारीहरूको सहभागिता रहनेछ ।
कार्यदलले सार्वजनिक गरेको तालिकाअनुसार जेठ ३० गते बागमती प्रदेशबाट सुरु हुने सुझाव सङ्कलन प्रक्रिया असार १९ गते विभाग प्रमुख र निकायका पदाधिकारीहरूको भेलासँगै सकिनेछ । कार्यक्रमको संयोजन सम्बन्धित प्रदेश इन्चार्जहरूले गर्ने र भेलामा कार्यदलका संयोजक थापा, महासचिव शंकर पोखरेल तथा अन्य सदस्यहरूको उपस्थिति रहनेछ ।
पार्टीको साङ्गठनिक अवस्थाबारे स्पष्ट जानकारी लिन कार्यदलले विशेष प्रश्नावली समेत तयार गरेको छ, जसका आधारमा व्यावहारिक सुझावहरू सङ्कलन गरिने बताइएको छ ।
पार्टी शुद्धीकरण र सुदृढीकरणका लागि गत जेठ १० गतेको सचिवालय बैठकले १५ सदस्यीय कार्यदल गठन गरेको थियो । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ताहरूलाई एकताबद्ध भएर जनतामाझ सक्रियताका साथ लाग्न निर्देशन दिनुभएको छ ।
सुरुमा एक महिनाको समयसीमा दिइएको भए पनि पहिलो बैठक बस्नै ढिलाइ भएकाले कार्यदलको म्याद थपिने सम्भावना देखिएको छ । सङ्गठनात्मक रूपान्तरणको एजेन्डा बोकेको यस कार्यदलको प्रतिवेदनले आगामी दिनमा एमालेको कार्यदिशा र रणनीतिमा कस्तो परिवर्तन ल्याउँछ, त्यो भने हेर्न बाँकी नै छ ।

















