२६ जेठ,वीरगञ्ज । वीरगञ्जका चर्चित फुटबल खेलाडी तथा लोकप्रिय गायक अशोक प्रधान ‘रिलिफ सोसाइटी अफ कमर्स पुरस्कार–२०८३’ बाट सम्मानित भएका छन्। खेलकुद र संगीत क्षेत्रमार्फत वीरगञ्ज तथा देशको पहिचान स्थापित गर्न पुर्याएको योगदानको कदर गर्दै उनलाई उक्त सम्मान प्रदान गरिएको हो।
रिलिफ सोसाइटी अफ कमर्सको ३५औँ स्थापना दिवस तथा बुद्ध जयन्तीको अवसरमा प्रदान गरिने पुरस्कार विभिन्न कारणले निर्धारित मितिमा वितरण हुन नसकेपछि आइतबार एक विशेष कार्यक्रमबीच प्रधानलाई सम्मान गरिएको हो।
रिलिफ सोसाइटी अफ कमर्सको कार्यालय वीरगञ्जमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष योगेन्द्र प्रसाद यादव, निवर्तमान अध्यक्ष अशोक लाठ, गणेश लाठ, नारायण रुङ्टा तथा निरज अग्रवाललगायतको उपस्थितिमा प्रधानलाई सम्मान गरिएको थियो।
सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै समाजसेवी अशोक लाठले खेलकुद र संगीत क्षेत्रमार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै वीरगञ्जको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउन अशोक प्रधानले महत्वपूर्ण योगदान दिएको बताए। सोही योगदानको मूल्यांकन गर्दै उनलाई ‘रिलिफ सोसाइटी अफ कमर्स पुरस्कार–२०८३’ प्रदान गरिएको उनले जानकारी दिए।
सम्मान ग्रहणपछि आफ्नो धारणा राख्दै अशोक प्रधानले रिलिफ सोसाइटी अफ कमर्सले समाजका विपन्न, असहाय तथा पछाडि पारिएका समुदायका लागि निरन्तर सेवा र सहयोग गर्दै आएको उल्लेख गरे। साथै विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वलाई सम्मान गरेर उनीहरूलाई थप हौसला प्रदान गर्ने संस्थाको कार्य प्रशंसनीय रहेको बताए।
“समाजसेवाका साथै विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरूलाई सम्मान गरेर प्रोत्साहन गर्ने कार्यले सकारात्मक ऊर्जा प्रदान गर्छ,” प्रधानले भने, “यो सम्मानले मलाई अझ जिम्मेवार र प्रेरित बनाएको छ।”
उनले आफूलाई सम्मानका लागि छनोट गरेकोमा रिलिफ सोसाइटी अफ कमर्स परिवारप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि खेलकुद र संगीत क्षेत्रमार्फत समाज तथा देशका लागि योगदान जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।
रिलिफ सोसाइटी अफ कमर्सले हरेक वर्ष सामाजिक सेवा, शिक्षा, स्वास्थ्य, खेलकुद, कला, साहित्य तथा अन्य क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको छ।

















